कर्णाली करिडोर बनेपछि व्यापारिक केन्द्र थपिए
सुर्खेत : कर्णाली करिडोरमा सवारीका साधन चल्न थालेपछि आर्थिक चहलपहल वृद्धि भएको छ । करिडोर क्षेत्रका आसपासमा बजार हुनसक्ने ठाउँमा जग्गाको कारोबारदेखि व्यापारको सम्भाव्यताले गर्दा आर्थिक चहलपहल बढेको हो ।
नेपाली सेनाले सडकको निर्माणकार्यलाई तीव्रता दिएपछि कालिकोटका खुलालु, लालिघाट, जितेगडा बजार, भुराबगर आमतडा बाजुराको पिलीचौर कवाडी क्षेत्रमा अहिले ब्यापारी केन्द्रका रूपमा स्थापित भएका छन् । रेंगिल, आम्तडा, सान्निगाड, भात्तडी, भुराबगर, जारकोट र घाटपारीज्युलामा व्यापारीहरूले जग्गाको खरिद बिक्री बढेको कालिकोट उद्योग वाणिज्य संघका पूर्ववरिष्ठ उपाध्यक्ष मथुरा न्यौपाने बताए । ‘खुलालु, लालिघाट र जितेगडा बजार अहिले ब्यापारी केन्द्रका रूपमा स्थापित भएका छन् ।’ उनले भने, ‘अन्य बजार हुनसक्ने क्षेत्रमा व्यापारीहरूले जग्गाको कारोबार गर्न थालेका छन् ।’
कर्णाली करिडोर क्षेत्रमा विगतमा कुनै बजार मूल्य नभएका घर जग्गाको मूल्य अहिले निकै अकाशिएको छ । केही वर्षमा त किन्न नसकिने अवस्थामा पुग्ने पचालझरना जारकोट बजारका धर्मराज सेजुवालले बताए । ‘विगतमा यस क्षेत्रमा कसैले जग्गा किन्दैथे ।’ उनले भने, ‘अहिले यहाँ जग्गा किन्न मारामार हुने गरेको छ ।’
सडक छेउछाउमा भावी दिनमा ब्यापारको राम्रो सम्भवना देखेर व्यापारीलगायतका अन्य व्यवसायीले जग्गा किन्ने घरसमेत बनाउन सुरु गरेको रास्कोट नगरपालिका स्थानीय तथा नागरिक समाजका अगुवा अम्मलराज शाहीले बताए । ‘विकटका गाउँबस्ती अहिले सहरका रूपमा बढेका छन् ।’ उनले भने, ‘विगतको भन्दा अहिले आर्थिक चहलपहल पनि निकै बढेको छ ।’
कर्णाली करिडोरको कालिकोट खुलालुदेखि हुम्ला सदरमुकाम सिमिकोटसम्म २८१ किमि सडक निर्माण भइरहेको क्षेत्रका विभिन्न बस्ती छोएकाले आर्थिक चहलपहल बढेको बाजुराका पूर्वसभासद कर्णबहादुर विकले बताए । ‘करिडोर कर्णालीका दर्जनौं बस्ती छोएर गएको छ । करिडोर क्षेत्रमा भोलिका लागि राम्रो सम्भावना देखेर जग्गाको ब्यापारदेखि घरहरू बन्न थालेका छन् ।’ उनले भने, ‘यसले गर्दा कर्णाली क्षेत्रमा आर्थिक चहलपहल पनि हुने नै भयो ।’
चीन र भारतको त्रिदेशीय ब्यापारिक केन्द्रका रूपमा लिइएको कर्णाली करिडोरमा कर्णालीका मानिसका लागि लाइफलाइन नै भएकाले निर्माणकार्य सुरु भएपछि करिडोर क्षेत्रमा बसोबास र आर्थिक चहलपहल बढेको कालिकोट थिर्पुका स्थानीय खेमराज रोकायाले बताए । ‘करिडोर त्रिदेशीय ब्यापारी केन्द्र हो । कर्णालीका मानिसका लागि लाइफलाइन हो ।’ उनले भने, ‘त्यसले गर्दा अहिलेभन्दा आर्थिक चहलपहल आउँदा दिनमा बढी हुनेछ ।’
विगतमा कर्णालीमा कुनै सम्भावना नदेखेर तराईलगायतका क्षेत्रमा बसाइँ सराइ गर्नेले करिडोर क्षेत्रमा भावी सम्भावना देखेर जग्गा खरिद गर्ने गरेको कांग्रेस कालिकोटका महासमिति सदस्य मोतीराज बमले बताए । ‘विगतमा कर्णालीमा सम्भावना नदेखेर अन्य क्षेत्रमा बसाइँ सराइ गरेकाहरूले अहिले यहाँ आएर जग्गा खरिद गर्ने गरेका छन् ।’ उनले भने, ‘यसले गर्दा अब मानिसले कर्णालीको सम्भवना देख्न थाले ।’
‘नर्थ एण्ड साउथ एक्किस ग्रोथ’का रूपमा लिइएको कर्णाली करिडोरको लालिघाटदेखि बाजुराको कबाडीसम्म गाडी गुडेका छन् । लामो समयदेखि निर्माणकार्य अन्योलमा रहेको करिडोर नेपाली सेनाद्वारा निर्माणकार्य सुरु भएसँगै निर्माण कार्यले तीव्रता पाएको थियो ।
करिव १२ वर्ष अगाडिदेखि सडक विभागले काम थालेको कर्णाली करिडोरमा ठेकेदारमार्फत करिब २३ करोड बजेट खर्च गरे पनि अपेक्षित रूपमा काम भएको थिएन । कामले तीव्रता नपाउँदा स्थानीयवासीेले आन्दोलन गरी २०७१ साल चैत ५ गते नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयबाट नेपाली सेनाले २०७२ चैत ९ गतेबाट निर्माणकार्यको सुरुवात गरिएको थियो ।
कर्णाली करिडोर कालिकोट खण्ड ४० किमि, बाजुरा खण्ड ४३ किमि र हुम्ला खण्ड ११३.३४७ किमि गरी १९६.३४७ किमि रहेको छ । वि.सं २०५७ सालमा कालिकोट करिडोरको शिलान्यास गरिएको थियो । शिलान्यास भएको १८ वर्षपछि सेनाले उक्त सडक निर्माणको जिम्मा पाएको हो ।