मावि चलाउन पनि कठिनाइ : कर्णालीका मुख्यमन्त्री
जुम्ला : कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले माध्यमिक विद्यालय सञ्चालन गर्न पनि कठिन भएको बताएका छन्। उनले कर्णालीको अहिलेको स्रोतले चलाउन सक्ने स्थिति नभएको दाबी गरे।
उनले भने, ‘यहाँ मावि स्तरमा विद्यालय सञ्चालनमा कठिन भएको अवस्था छ। क्याम्पसहरूलाई व्यवस्थित बनाउन सकेका छैनौँ।’ जुम्लाका बासिन्दाले सिंजा सभ्यता संरक्षण र विश्वविद्यालय सञ्चालनका लागि गरेको आग्रहमा शाहीले यस्तो जवाफ दिएका हुन्।
जुम्ला भ्रमणमा रहेका कर्णालीका मुख्यमन्त्री शाहीलाई जुम्लाका बासिन्दाले ध्यानाकर्षण पत्र बुझाएका थिए। कर्णालीको अस्तित्वसँग जोडिएका ती विधेयक कर्णालीका दुई मुख्यमन्त्री हुँदा पनि पास गर्न किन कन्जुस्याइँ गरिएको भन्दै प्रश्न गरेका थिए।
कर्णाली सभामा दर्ता भएको पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक सरकारी विधेयक हो। यस्तै सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक जुम्लाका सांसद नरेश भण्डारीले दर्ता गराएको विधेयक हो। यी दुवै विधेयक संसद् स्थगित भएपछि अहिले अलपत्र छन्।
मुख्यमन्त्री शाहीले भने, ‘यी विधेयक हतारमा गरेका निर्णय जस्तै हुन्। यो कर्णालीमा सम्भव छैन। अब हुँदैन पनि।’ यी विधेयक मुख्यमन्त्रीले मात्रै नभई समितिले ल्याउने बताउँदै समितिले यसको छलफल समेत नगरेको उनले बताए।
त्यस्तै मुख्यमन्त्री शाहीले सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक आवश्यक नभएको बताए। उनले कर्णाली प्रज्ञा प्रतिष्ठान बनाइने भएकाले सबै विषय त्यसैमा समेटिने बताए। उनले भने, ‘जुम्लाले सिंजा सभ्यता भनेर छुट्टै बनाएको खण्डमा सबै जिल्लाले आ–आफ्नो सभ्यता खोज्ने समस्या बढ्छ। त्यसैले यो आवश्यक छैन।’
मुख्यमन्त्री शाहीलाई जुम्लाका बुद्धिजीवी र बासिन्दाले ज्ञापनपत्र दिँदै ‘पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक’ र ‘सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक’ पारित गर्न ध्यानाकर्षण गराएका थिए। ती दुवै विधेयक कर्णाली प्रदेश सरकारको सचिवालयमा दर्ता भएका छन्।
जुम्ला बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख प्रकाशचन्द्र खत्री सहितको बुद्धिजीवीको टोलीले मुख्यमन्त्री शाहीलाई ध्यानाकर्षण गरेको थियो।