२०७९, ९ आश्विन आईतवार

साउदीमा अलपत्र जुम्लाका नौजनाको उद्धार

सुर्खेत :  साउदीमा अलपत्र जुम्लाका नौजनाको उद्धार गरिएको छ । वैदेशिक रोजगारीका लागि साउदी पुगेका जुम्ला गुठीचौर गाउँपालिका– १ का नौजना अलपत्र परेका थिए । एक महिनापछि उनीहरूलाई उद्धार गरी आइतबार नेपाल फर्काइएको हो ।
गुठीचौर गाउँपालिका– १ का वडाध्यक्ष अर्जुनकुमार महतारा, राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही र राप्रपाका युवा नेता अनुप थापाको पहलमा उनीहरूको उद्धार गरिएको हो । गुठीचौर– १ का नीराजन थापा, डिलबहादुर रोकाय, शान्तबहादुर रोकाय, खडग रोकाय, लक्ष्मीबहादुर रोकाय, प्रताप लामा, एकराज ऐडी, आनन्द रोकाय र जनक बुढाको उद्धार गरिएको वडाध्यक्ष महताराले जानकारी दिए ।
महताराले भने, ‘राम्रो तलब दिने भनी नेपालबाट ब्लु ग्यालेक्सी कम्पनीले साउदी पठाएको रहेछ । तर, साउदीमा क्युसिएम कम्पनीले भनेको काम र तलब नदिँदा अलपत्र परेका रहेछन् ।’ नेपालबाट बैंक क्लिनर र हस्पिटल क्लिनरको रूपमा पठाइए पनि उनीहरूलाई आर्मी ब्यारेकमा काम लगाइएको थियो ।
सुरुमा मासिक तलब एक हजार साउदी रियाल दिने भनिए पनि उता पुगेपछि आठ सय मात्रै दिने गरी काम गर्न बाध्य पारिएको पीडितहरूको गुनासो छ । त्यो पनि केही समयपछि पूरा तलब नदिएको बताइएको छ । उनीहरू नेपाल आएपछि ‘ब्लुग्यालेक्सी’ मेनपावर कम्पनीविरुद्ध उजुरी दिने तयारी भएको वडाध्यक्ष महताराले बताए ।