निर्माण व्यवसायी सुर्खेतको अध्यक्षमा को–को छन् आंकाक्षी
सुर्खेत : शनिबारदेखि शुरु भएको निर्माण व्यवसायी एकता समाज सुर्खेतको अध्यक्षमा दुई जनाले आंकाक्षा राखेका छन् । अधिवेशनले नयाँ नेतृत्वको चयन गर्नेछ ।
नयाँ नेतृत्वको लागि अध्यक्ष पदमा पदमबहादुर खड्का र बसन्तबिक्रम जिसीले उम्मेद्वारी दिन लागेका छन् । खड्का श्याम एण्ड शंकर जेभीका सञ्चालक हुन् । उनी समाजको हालका बरिष्ठ उपाध्यक्ष पनि हुन् । समाजका अध्यक्ष जनक रावल वीरेन्द्रनगर नगरपालिकाको ६ नम्बर वडाध्यक्ष छन् । अध्यक्ष पदका लागि खड्कासहित बसन्त विक्रम जिसीले उम्मेद्वारीको घोषणा गरेका छन् । जिसी एल जेएस कन्टक्शनका सञ्चालक हुन् भने यसअघि उनी समाजकै पूर्व सदस्यहुँदै कोषाध्यक्ष बनिसकेका छन् । निर्माण व्यवसायीहरुलाई गोलवद्ध गर्ने र वस्तुगत समस्या समाधान गर्नका लागि अध्यक्ष पदको उम्मेद्वार बन्न लागेको खड्काले जानकारी दिए ।
‘निर्माण व्यवसायीले कयौं समस्याहरुसँग जुधि राख्नु परेको छ । तत् समस्याहरु समाधान गर्न अध्यक्ष पदको उम्मेद्वार बन्न लागेको हुँ,’ अध्यक्ष पदका उम्मेद्वार खड्काले भने, ‘आफू निर्वाचित भएमा कार्यकाल अवधिमा निर्माण व्यवसायीले भोग्नु परेका समस्याहरु समाधानमा कुनै कसर बाँकी राख्ने छैन् ।’
यस्तै, बरिष्ठ उपाध्यक्षमा हालका उपाध्यक्ष विक्रम गिरी र नेत्र कार्कीको चर्चा छ । यस्तै, उपाध्यक्षमा समाजका पूर्व सचिव कार्लमास्क श्रेष्ठ, सुरज थापा र हालका सदस्य चेतनाथ योगीले दावी गरेका छन् । महासचिवमा भने खगेन्द्र राना, गोविन्द मल्ल र सुनिल विसीले दावी गरिरहेका छन् ।
राना पूर्व सचिव हुन भने मल्ल समाजको कार्य समिति सदस्य हुन् । यस्तै, सचिव पदमा राजकुमार मल्ल, नवराज सापकोटा, इन्द्र थापा, खम्ब शाही र विनोद गिरी उम्मेद्वार बन्न सक्ने चर्चा छ । कोषाध्यक्षमा भने मंगल श्रेष्ठ र सुशान्त कुँवर ‘मनु’ को चर्चा छ । पदाधिकारीसहित १२ सदस्यीय कार्यसमिति रहेको समाजका २८१ जना मतदाता छन् । आज बन्द सत्र सम्पन्न भएपछि नयाँ नेतृत्वको लागि निर्वाचन प्रक्रिया आइतबारदेखि शुरु हुनेछ ।