२०८१, ५ बैशाख बुधबार

२३३ वर्षपछि सिन्जामा हाट : आर्थिक समृद्धि, र सभ्यता संरक्षणको कदम

जुम्ला : पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नु पहिला नेपाल बाइसे–चौबीसे राज्यमा विभाजित थियो; जसमध्ये जुम्लास्थित ‘सिन्जा राज्य’ सबैभन्दा बलियो र शक्तिशाली राज्य थियो । भाषा, साहित्य, सभ्यता संस्कृतिले मात्र नभई आर्थिक, सामाजिक, तथा भू–राजनीतिक दृष्टिले पनि सिन्जा राज्य अन्य राज्यभन्दा अब्बल र शक्तिशाली मानिन्थ्यो ।
विशेष गरी सिन्जा राज्यमा वि.सं. १८४६ तिर ठूलो हाटबजार लाग्थ्यो । ‘हाट’ बजारकै कारण १२ औँदेखि १४ औंँ शताब्दीसम्म सिन्जा खस राज्य आर्थिक रूपमा बलियो भएको इतिहासमा पाउन सकिन्छ । उतिबेलाको ‘हाट’ अहिलेको प्रमुख व्यापारिक केन्द्रजस्तै हो, जुन सिन्जामा थियो ।
सिन्जा राज्यले वि.सं. १८४६ तिर दक्षिणमा भारत र उत्तरमा चीनसँग बाक्लो व्यापारिक गतिविधिसमेत गर्दै आएको जानकारहरू बताउँछन् । चीनबाट विशेष गरी ऊनबाट बनेका विभिन्न वेशभूषाको निर्यात हुन्थ्यो भने सिन्जामा त्यसको बिक्री गरिन्थ्यो । त्यही हाटबाट त्यतिबेलाका सबै राज्यमा मालसामान पठाउने गरिन्थ्यो ।
दक्षिणमा भारत र उत्तरमा चीनलाई आकर्षण गर्ने गरी सिन्जामा लाग्ने ‘हाट’ आर्थिक, सामाजिक, सांस्कृतिक, ऐतिहासिक तथा भू–राजनीतिक दृष्टिले पनि निकै महत्वपुण मानिन्छ । हाट लाग्दा सिन्जा राज्यका राजाहरूले चीन र भारतसँग पारस्परिक व्यापारिक सम्बन्धसमेत कायम गरेका थिए । सहजै रूपमा चीन, भारत गएर सामान ल्याउने र पठाउनेसमेतको काम सिन्जा राज्यले गर्दै आएको इतिहास छ । नेपाल एकीकरण हुनुपूर्व भएका विभिन्न युद्धले समेत सिन्जा राज्यको हाटबजारलाई प्रभावित गर्न सकेको थिएन ।
सिन्जा सभ्यतासम्बन्धी जानकार तुंगनाथ उपाध्याय भन्छन्, ‘सिन्जाले चलाउने हाट त्यतिबेलाका राज्यहरूका लागि प्रमुख व्यापारिक केन्द्र भएकाले पनि हाटबजारको निरन्तरता र संरक्षणमा राजाहरू लागिपरेका थिए । जतिबेला किनमेलका लागि कुनै माध्यम थिएन । त्यसको सुरुवात पनि सिन्जा राज्यको हाटबजारबाट सुरु भयो । हाटकै कारण आर्थिक रूपमा सिन्जा राज्य शक्तिशाली मानिन्थ्यो ।’
२३३ वर्षपछि सिन्जा हाटबजार
बाइसे–चौबीसे राज्यको प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेको सिन्जा राज्यको हाटबजार नेपाल एकीकरणसँगै विलय भयो । त्यसपछि भएका विभिन्न राजनीतिक घटनाक्रमसँगै मुलुकमा लोकतन्त्र, गणतन्त्र आयो । पछि नेपालको संविधान, २०७२ को मर्मअनुसार नेपालमा संघीय संरचनास्वरूप तीन तहका सरकार सञ्चालनमा आए । २०७४ को स्थानीय तहको निर्वाचनपछि सिन्जा सभ्यता तथा खस भाषा संरक्षणको चर्को बहस पनि चल्यो । तर, हालसम्म उपलब्धिमूलक काम भने हुन सकेन ।
सिन्जा राज्यको विरासत जोगाउन राज्यका विभिन्न कामहरूलाई अहिले पनि पुनर्जन्म दिन अर्थात् संरक्षण प्रवद्र्धन गर्न आवश्यक छ । भाषा, साहित्य, वेशभूषा र शक्ति प्रदर्शनका हिसाबले मात्र नभई सिन्जा राज्य हाटका कारण पनि आर्थिक रूपमा सक्षम रहेको मानिन्छ । सिन्जा सभ्यताको विरासत जोगाउन अघिल्ला तीनै तहका सरकारले खासै परिणाममुखी काम गर्न सकेनन् ।
तर, स्थानीय तहको दोस्रो निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको पहलबाट सिन्जा गाउँपालिकाले सिन्जा सभ्यताको विरासत जोगाउन, खस भाषा संरक्षण गर्न र पर्यटन प्रवद्र्धन गर्नका लागि झन्डै २ सय ३३ वर्षपछि सिन्जामा पुनः ‘हाटबजार’को सुरुवात गरेको छ ।
जुम्ला राज्यमाथि आक्रमण गरी गोर्खालीहरूले आफ्नो कब्जामा लिएपछिको २ सय ३३ वर्षपछि उक्त हाटबजारको पुनःस्थापना गरिएको गाउँपालिकाको दाबी छ ।
‘स्थानीय उत्पादनको बजारीकरणसँगै सिन्जा राज्यको विरासत जोगाउन हाटबजारको सुरुवात गरेका हांै,’ सिन्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले भने, ‘प्रत्येक महिनाको १ गते हाटबजार लाग्ने व्यवस्था गरेका छौं । वि.सं. १८४६ अघि लाग्ने सिन्जाको हाटबजारलाई २ सय ३३ वर्षपछि पुनः सुरु गरेका छौं । स्थानीय उत्पादन खुर्सानीदेखि ऊनबाट बनेका कपडा, राडीपाखी सबै स्टलका रूपमा राखिनेछ । बजारको भन्दा सस्तोमा अर्गानिक वस्तुको किनमेल हुन्छ भने किसानको आर्थिक समृद्धि र सिन्जा सभ्यता संरक्षणका लागि हाटबजार कोसेढुंगा साबित हुने विश्वास छ ।’
दोस्रो पटक गएको बिहीबार सिन्जा गाउँपालिकाको नराकोटमा हाटबजार लागेको थियो । असार १ गतेबाट औचारिक रूपमा हाट लाग्न थालेको हो । सिन्जाका धनपति बूढाले हाटबजारमा सिन्जा सभ्यताको वेशभूषासँग जोडिएको कालो काम्लो बिक्री गर्न ल्याएका थिए । उनले बजारको भन्दा धेरै सस्तो ३५ सयमा प्रति कम्बल बेच्ने गरेको बताए । आफ्नै हातले बुनेको कम्बल बिक्री गर्न पाउँदा खुसी लागेको उल्लेख गरे ।
त्यस्तै सिन्जाका महिला किसानले आलु, फर्सी, स्याउ, बन्दा, टमाटर खुर्सानी, चोतो, चिनो, कागुनो, मार्से, फापर, सिमीलगायतका तरकारी तथा अन्नबाली बिक्रीका लागि हाटबजारमा ल्याएका थिए ।
विनिता उपाध्याय, राजकन्या रोकाया, सृजना बूढा, मुगा राना, राजु बूढालगायतका महिला किसानले हाटबजारमा अर्गानिक तरकारी तथा रैथाने बाली बिक्री गर्न पाउँदा खुसी लागेको बताइन् । हाटबजारको निरन्तरता दिनुपर्ने उनीहरूको माग छ ।
यता गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले हाटमा रैथाने अन्नबाली र तरकारीलाई जोड दिइने भन्दै हाटबजार सुरु गरेपछि सिन्जाको आर्थिक विकासमा टेवा पुग्ने उल्लेख गरे ।
साथै हाटबजार सञ्चालनसँगै सिन्जा सभ्यताको संरक्षण र पहिचान झल्काउनका लागि देउडासमेत खेल्ने गरिएको छ । देउडामार्फत सिन्जा सभ्यताको वर्णन गर्ने, संरक्षणका लागि सरकारको ध्यानाकर्षण गराउने र एकआपसमा सुखदुःख साट्नसमेत हाटबजारमा देउडा खेलको सुरुवात गरिएको सिन्जा गाउँपालिकाका उपाध्यक्ष सितली रोकायाले बताइन् । सिन्जा गाउँपालिकाले इतिहासलाई जीवित बनाउने प्रयत्न गरिरहेको समेत उनको भनाइ छ । दोस्रो पटक सञ्चालित हाटबजारमा स्थानीय तहको आकर्षण बढ्दो भएकाले यसलाई व्यवस्थित तथा निकट भविष्यमा सिन्जाको हाटलाई अवलोकन गर्न नेपालका उच्चपदस्थ व्यक्तिलाई समेत निम्तो गरिने उपाध्यक्षले रोकायाले उल्लेख गरिन् ।
हाटबजारमा स्थानीय भेडाको ऊनबाट बनेका कोठे कपडा, गलबन्दी, कम्बललगायतका वस्तु समेत बिक्रीका लागि राखिएको छ । सस्तोमा केही मीठोमसिनो खान तथा लगाउन हाटबजारमै गएर किन्नुपर्छ भन्ने मानसिकता अझै पनि कायम रहेकाले हाटबजारको महŒव रहेको सिन्जा सभ्यतासम्बन्धी अध्ययन–अनुसन्धान गरिरहेका सर्जक डिल्ली तिवारी बताउँछन् । वि.सं. १८४६ पछि झन्डै २ सय ३३ वर्षको अन्तरालमा हाटबजार सुरु गरेर सिन्जा गाउँपालिकाले सिन्जा सभ्यताको विरासत जोगाउन र पालिकाको आर्थिक समृद्धिका लागि महत्वपुण कदम चालेको उनको भनाइ छ ।
यो एउटा ऐतिहासिक र अर्थतन्त्रमा सघाउने दीर्घकालीन बजार विकासको कार्य हो । गाउँ सरकारले यसको प्रवद्र्धनमा जोड दिन्छ । तत्कालीन सिन्जा खस राज्यबाट नै हाटबजार खोलिएपछि गढवाल, पिथौरागढमा पनि सामान किनबेच हुने गरेको अध्यक्ष धितालको भनाइ छ । उनका अनुसार जंगबहादुर राणाको उदयपछि दाङ र कान्छो हाटका रूपमा नेपालगन्ज खुलेकाले १९ औं शताब्दीपछिको पुस्ताले सिन्जा हाट आउने÷जाने गर्दै आएका थिए । हाल सिन्जा गाउँपालिकाले सिन्जा सभ्यता संरक्षणका लागि हाटबजारको निरन्तरता र व्यवस्थापमा जोड दिने बताएको छ । हाटबजारबाटै सिन्जाको दिगो आर्थिक विकास र स्थानीयको जीविकोपार्जनमा सहजता ल्याउनेसमेत पालिकाको योजना छ ।–सागर परियार