२०८०, १८ आश्विन बिहीबार

संरक्षणको अभाव खस राज्यको इतिहास ध्वस्त हुदैँ

कालिकोट : जुम्लाको सिंजा उपत्यकालाई नेपाली भाषाको उद्गमस्थल मानिन्छ । त्यसैले नेपाली समाजमा सिंजा सभ्यताको छुट्टै र विशिष्ट महत्व छ । तर अहिले त्यही उपत्यकाको अस्तित्व र महत्व संकटमा परेको छ । सिंजा उपत्यकामा रहेका पूर्व प्राचीनकालबाट बनाएका धार्मिक मठ, मन्दिर, गुफा, देवल, सिउ बाघ, चालचलन, रीतिरिवाज लगायतका पर्यटकीय क्षेत्रहरु अहिले संरक्षणको अभावमा ध्वस्त हुदै गइरहेका छन् ।
नेपाली भाषाको उद्गम स्थान जुम्ला सिंजाको उपत्यकामा रहेको सिंजा कनकासुन्दरी मन्दिर, पान्डव गुफा, बुढु मष्टा, कनकासुन्दरी नैधारा मन्दिर, बिराट दरबार, नाख्या दुला, ह्रयाङ्कग्रा देवता मन्दिर, लेकपर लामा मन्दिर, बातामालीका महादेव मन्दिर लगायत सिंन्जा भेगमा रहेका ३ दर्जनभन्दा बढी साना ठूला देवी देउताका मन्दिरहरु जिर्ण भई ध्वस्त हुन लागेका छन् ।
त्यसैगरी पाँच भाइ पाण्डव बस्ने पाण्डव गुफा र बिराट दरबारको अबेशष समेत भेटिन मुस्किल पर्न थालेको छ । खस राज्य सञ्चालनको समयमा बनाइएका यी मठ मन्दिर, सिन्जा सिहु बाघ, ठूला ठूला ढुङ्गामा कँुदिएका चित्रकला, संकेत अक्षर र अंकहरु लेखिएका शिला लेखहरु समेत अहिले खेतबारी र पाखाहरुमा बेवारिसे अवस्थामा रहेको जुम्लाका मानदत्त रावलले बताए । ‘जुम्लामा रहेको खस राज्यको इतिहास नै मेटिन लागेको छ ।’ उनले भने,–‘त्यसको संरक्षण जर्गेना गर्न कसैले पनि पहल चालेको छै्न ।’
यसैगरी प्रसिद्ध कनका सुन्दरी मन्दिर नजिकै पूर्वतिर धर्मशाला बनाउनको लागि जगा खन्ने क्रममा ५ वटा मूर्ति भेटिएको थिए । कर्णाली पर्यटन प्रबद्र्धन बिकास समितिको लगानीमा भक्तजनहरुलाई बस्नको लागि धर्मशाला बनाउने क्रममा पुराना ढुंगाका मुर्ति भेटिएका थिए । ५ वटा मूर्ति मध्य ३ ठूला र २ साना रहेका छन् । जसमा विष्णु,जालाफा देवी, शिव, लक्ष्मी, साढे लगायतका मुर्ति रहेका छन् । मुर्ति भेटिएको ठाउँमा पहिले खस राजाको दरवार रहेको अनुमान गरिएको छ ।
कनकासुन्दरी मन्दिर लगायत सिंजा क्षेत्रमा रहेका महत्वपूर्ण स्थानहरुको संरक्षण, संग्राहलय, उल्घनन् र सुरक्षाको आवश्यक रहेको कर्णाली पर्यटन प्रर्बद्धन विकास समितिका अध्यक्ष नरबहादुर रावतले बताएका छन् । भेटिएका मुर्तिहरु सुरक्षाको लागि ईलाका प्रहरी कार्यालय हाडसिंजामा राखिएको समितिका सचिव ताराजङ्ग हमालले बताए ।
कर्णालीमा रहेका विभिन्न धार्मिक सांकृतिक भेष भुषा त्यस्तैगरी, गुफा, मन्दिर, पञ्चेबाजा लगायत पनि संरक्षणको पर्खाइमा छन् । तर यस्ता पुरातात्विक सम्पत्ति र धरोहरको संरक्षणमा सम्बन्धित निकायको खासै ध्यान जान नसकेकोमा स्थानीयको चिन्ता छ । अझ पनि यसमा राज्य गम्भीर बन्न सके ऐतिहासिक धरोहर जोगाइराख्न सकिने स्थानीयको विश्वास छ ।
ती भेटिएका मुर्तिहरु वर्षको दुई पटक मात्रै यी मूर्तिको सर्वसाधारणले दर्शन पाउँछन् । दसैंको फूलपातीदेखि नवमीसम्म र चैते दसैंको एक दिन बिहानदेखि बेलुकासम्म । यी दुई बेला बिहान चौकीबाट बाजागाजासहित मूर्ति मन्दिरमा लगिन्छ । अनि साँझ उसैगरी बाजागाजासहित मूर्तिलाई चौकीभित्र हुलिन्छ । त्यतिबेला भक्तजनहरू भगवान जेल परेको झैं मानेर दुःखी देखिन्छन् । तर उच्चपदस्थ सरकारी कर्मचारीदेखि नेता, मन्त्री र सांसदलाई यी मूर्तिको दर्शन गर्न साइत कुर्नु पर्दैन । उनीहरू चाहेको बखत चौकीमा पुग्छन, पुजारीलाई डाक्छन् अनि मूर्तिर्को दर्शन र पूजा गरेर फर्किन्छन् ।