२०७९, ९ आश्विन आईतवार

आत्मनिर्भरताका कुरा मात्रै

नेपाललाई कृषिप्रधान मुलुक भनिए पनि देशभित्र आवश्यक पर्ने खाद्यान्न, फलफूल र तरकारी विदेशबाट आयात गर्नुपर्ने अवस्था छ । जनसंख्याको ठूलो हिस्सा कृषिक्षेत्रमा संलग्न भए पनि कृषिको औद्योगिकीकरण हुन नसक्दा उत्पादन बढ्न सकेको छैन, उल्टै परनिर्भरता बढिरहेको छ । यदाकदा केही उदाहरणीय काम भएका होलान् तर समग्रमा स्थिति निराशाजनक नै छ । अहिले कृषिक्षेत्रप्रति जनस्तरमा समेत रुचि घट्दै गइरहेको छ । जनशक्तिको अभावका कारण हो वा खेतीपातीप्रति अरुचि भएर हो, कैयौं स्थानमा खेतीयोग्य जमिन बाँझो देखिन्छ ।
वैदेशिक रोजगारका नाममा कैयौं नेपाली युवाहरु विदेशमा भौंतारिएका छन् तर तिनलाई देशभित्रै उत्पादनमूलक काममा लगाउने राज्यसँग कुनै योजना छैन । हरेक वर्ष वर्षातको मौसममा बीउबीजन र रासायनिक मलको अभाव हुने गर्छ । त्यसैले कृषिप्रति किसानहरुको आकर्षण बढ्न सकेको छैन । त्यसैको परिणाम हो, उत्पादन बढ्न सकिरहेको छैन । यस वर्ष रासायनिक मलको अभाव देखिएको छैन तर किसानले राज्यबाट पाउनुपर्ने सहुलियत वा सुविधा पाउन सकिरहेका छैनन् । अनुदानको मल नाम मात्रको छ भने सरकारको स्वामित्व रहेका बैंकहरुले समेत किसानहरुसँग १४⁄१५ प्रतिशतसम्म चर्को ब्याज असुलिरहेका छन् ।
हाम्रा राज्य सञ्चालकहरुको सोच र राजनीतिक भ्रष्टाचार बढाउने भ्रष्ट मानसिकता झन–झन् बढ्दै गइरहेको छ । मुलुकमा गणतन्त्र आइसके पनि जनतालाई रैती ठान्ने सामन्तवादी चिन्तन अहिले पनि कायमै छ । किसानहरुका लागि राणा र राजाको शासनजस्तै अहिलेको गणतन्त्र नहुनुपथ्र्यो तर नेतृत्ववर्गको सोच पुरानै रहेकाले व्यवहारमा खासै फरक देख्न पाइएको छैन । नेपालको विकास गर्ने प्रमुख आधार कृषि, पर्यटन र जलस्रोतलगायतका क्षेत्रहरु हुन् । तर सबै क्षेत्रको अवस्था बेहालजस्तै छ ।