२०७९, २७ श्रावण शुक्रबार

जनप्रतिनीधिलाई यूएसएआइडी कर्णाली जल परियोजानबारे अभिमुखिकरण

सुर्खेत । खानेपानी, जल सुरक्षा, सरसफाइ, जलाधार संरक्षण तथा जल सुशासनको क्षेत्रमा कार्यरत यूएसएआइडी कर्णाली जल परियोजना सञ्चालित स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई परियोजनाको अभिमुखिकरण तथा दोस्रोवर्षको कार्ययोजनाबारे छलफल कार्यक्रम सुर्खेतमा सुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने यस कार्यक्रममा परियोजनाका बिषयमा स्थानीय जनप्रतिनीधिहरुलाई अभिमुखिकरण सञ्चालन गरिएको हो ।


कार्यक्रममा कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालयका उपसचिव जहारलाल हमालले कर्णाली प्रदेशमा समुदाय र सरकारी संयन्त्रबीच विकास प्राथमिकता तथा आवश्यकताको आधारमा समन्वयको अभाव रहेको बताए । ‘यूएसएआइडी कर्णाली जल परियोजनाले यो समन्वयको अभावलाई मध्यनजर गरी आफ्ना कार्यक्रमहरु सञ्चालनमा ध्यान दिइरहेको हुँदा यस परियोजना अन्तर्गत सञ्चालन गरिने कार्यक्रमहरु बढि प्रभावकारी हुने र दीगोपनका लागि सहजता हुनेछ ।’ उनले भने,‘बिकास पुर्वाधार निमार्णमा अदुरदर्शिताका कारण विकाससंगै विपत र बिनास पनि निम्तीरहेको हुनाले खानेपानी तथा सरसफाइका योजनाहहरु निर्माण गर्दा वातावरणीय पक्षलाई पनि प्राथमिकता दिनुपर्छ ।’
कार्यक्रममा बोल्दै कर्णाली प्रदेश, जलस्रोत तथा उर्जा बिकास मन्त्रालयका सिनियर डिभिजन इन्जिनियर गोपाल शर्माले परियोजनाले मन्त्रालय तथा स्थानीय तहसँगकोे समन्वय र सहकार्यमा कार्यक्रमहरुको तर्जुमा तथा सञ्चालन प्रक्रिया सुरु गरेकोले यस्ता कार्यक्रमहरु बढी प्रभावकारी र दीगो हुने बताउँदै आवश्यकताका आधारमा आफ्ना कार्यक्रमहरु तर्जुमा गरी परियोजनासंग सहकार्य र सहजगिकरण गर्न स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुलाई अनुरोध गरे ।


कार्यक्रमलाई सम्वोधन गर्दै यूएसएआइडी कर्णाली जल परियोजनाका चिफ अफ पार्टी केट यडलिनले परियोजनाले स्थानीयतहसंग समन्वय र सहकार्यमा कामगर्ने हुनाले प्राथमिकताका आधारमा आवश्यक सहकार्य र समन्वयमा परियोजनाले आफ्ना कार्यक्रम अगाडी बढाउने बताए ।
परियोजनाको परिचय तथा गतिविधिबारेमा जानकारी गराउँदै परियोजनाका डिपुटी चिपअफ पार्टी नारायण वाग्लेले परियोजनाले यस वर्षमा सञ्चालन गर्ने योजना र प्राथमिकता बारेमा सहभागिहरुलाई प्रकाश पार्दै, आवश्यक सहयोग र सहकार्यका लागि आग्रह गरे । कार्यक्रममा सहभागी स्थानीयतहका प्रमुख तथा प्रमुख प्रसासकिय अधिकृतहरुले परियोजनासँग सहकार्य र योजना प्राथमिकिकरण सम्वन्धमा आफ्ना अनुभव तथा सहकार्य र समन्वयको सम्भावनाका क्षेत्रमा आफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा यूएसएआइडी कर्णाली जल परियोजानले कर्णाली नदिका जलाधार क्षेत्रमा २९ पालिकामा खानेपानी, जल सुरक्षा, सरसफाई, जल सुशासन तथा जलाधार संरक्षणका क्षेत्रमा काम गर्ने जानकारी गराइएको थियो । परियोजनाले कर्णाली जलाधार क्षेत्रका खानेपानी, सरसफाई तथा खानेपानी संरक्षणका हिसावले पछाडी परेका २९ स्थानीयतह जल उपयोग गुरु योजनाको निमार्ण तथा जल शुसासनका लागि आवश्यक कानुन तथा नीती निमार्णका लागि स्थानीय, प्रदेश तथा संघिय सरकारसंग आवश्यक समन्वय, सहकार्य तथा प्राविधिक सहयोग गर्ने छ । यस्तै यस परियोजना अन्तर्गत २९ स्थानीयतहमा ३२० खानेपानी योजना, ६ वटा दिशाजन्य लेदो प्रसोधन केन्द्र तथा १० वटा दिशाजन्य लेदो प्रसोधन ब्यवसायिक योजनाको निर्माण गर्नेछ । यस्तै खानेपानी आयोजनाको दिगोपनका र पर्यावरणिय संरक्षणका लागि परियोजना अन्तर्गत १०० मुल सुधार तथा संरक्षणका कार्यक्रम सञ्चालन गर्ने छ । यसका साथै स्थानीय निकायका क्षमता बिकास र दिगो जल संरक्षा, पानी बहुउपयोग तथा खानेपानीको मुल तथा जलाधार संरक्षणका लागि आवश्यक सामाजिक ब्यवहार परिवर्तनका लागि परियोजना केन्द्रीत रहने छ ।


कार्यक्रममा कर्णाली जल परियोजनाका विषयगत बिशेषज्ञहरुले आ₋आफ्नो बिषयगत क्षेत्रका उपलब्धी तथा यस वर्षका योजनाहरुबारे जानकारी गराएका थिए । कार्यक्रममा सहभागि स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रतिनिधिहरुले आ₋आफ्नो पालिकामा सहकार्य र समन्वयको सम्भावना तथा अवसरको बिषयमा आफ्ना धारणा राखे ।
कार्यक्रमको दोस्रो दिन संघिय खानेपानी मन्त्रालयद्वारा तयार पारिएको राष्ट्रिय खानेपानी, सरसफाई तथा स्वच्छता नीति २०७८ परिमार्जित मस्यौदा माथि छलफल गरी आवश्यक सुझाव तथा राय समेत संकलन गरिने छ । कार्यक्रममा परियोजना सञ्चालित २९ स्थानीयतह मध्ये २५ स्थानीयतहका जनप्रतिनिधी तथा कर्मचारीको सहभागिता छ ।