२०८०, १५ चैत्र बिहीबार

नामिबियाविरुद्ध नेपालको लज्जास्पद हार

नेपालले विश्वकप क्रिकेट लिग २ मा शनिबार नामिबियासँग लज्जास्पद हार बेहोरेको छ । निकै फितलो ब्याटिङपछि नामिबियाले शनिबार नेपाललाई ६३ रनले पराजित गर्‍यो । ब्याटिङमा फेरि पनि निकै कमजोर प्रदर्शन गरेपछि नेपालले एक अर्को हार बेहोर्नु परेको हो । 

२ सय रनको मध्यम लक्ष्य लिएर आएको नेपाल ३७.५ ओभरमा १ सय ३६ रनमा अलआउट भयो । स्कटल्यान्डको एयरमा दीपेन्द्रले आदिल अलामसँग छैटौं विकेटमा ३६ रनको साझेदारी गरेका थिए, जुन नेपाली इनिङ्सको सबैभन्दा ठूलो साझेदारी थियो ।

दीपेन्द्रले नेपालबाट सर्वाधिक ३८ रन बनाए । लिग २ मा १४ खेल खेल्दै उनले आफ्नो उच्च स्कोर बनाएका हुन् । नामिबियासँगको खेल अघि लिग २ मा दीपेन्द्रको औषत ९ मुनि रहेको थियो । अर्का दबाबमा रहेका ब्याटर ओपनर कुशल भुर्तेल शून्यमा आउट भए । उनी आउट भएसँगै नेपालले सुरुआतदेखि नै दबाबमा खेलेको थियो ।

अर्का ओपनर आसिफ शेखले ३२ बलमा ६ चौका प्रहार गर्दै ३४ रन बनाए । उनी बर्नान्ड स्कोल्ट्जको पहिलो सिकार भए । देव खनाल विवादस्पद ढंगले आउट भए । उनले प्रहार गरेको शट बाउन्ड्री लाइनमा लडेर फिल्डरले समातेका थिए । अम्पायरले त्यसमा छक्काको साइन गरे । तर नामिबियाका खेलाडीको क्याचको अपिलपछि देवलाई आउट दिइएको थियो ।

निकै संघर्ष गरेर खेलेका उपकप्तान रोहित पौडेलले ५० बलमा १७ रन बनाए । आरिफ शेख ४ रनमै आउट भए । आदिलले केही ठूला शट खेल्दा खुम्चिएको नेपाल रन रेटमा सुधार आएको थियो । तर उनी अन्ततः ठूलो शट खेल्दै लङ अनमै क्याच दिन पुगे । आदिलले २ चौका र १ छक्का प्रहार गरी २० रन बनाए

अन्तिम ३ विकेट नेपालले आठ बलको अन्तरमा गुमायो । सोमपाल कामी १ रनमा आउट भए भने बसिर अहमद र कप्तान सन्दीप लामिछानेले खाता खोल्न सकेनन् । पवन सर्राफ १० रनमा अविजित रहे । उनलाई करण केसीको स्थानमा खेलाइएको थियो । देव्रे हाते स्पिनर स्कोल्ट्जले ५ विकेट लिए । उनले ९.५ ओभरमा २ मेडन राख्दै २२ रन खर्चे । ओपनिङ बलर जान फ्रयाक्लिनले १० ओभरमा २ मेडन राख्दै २६ रन खर्चेर ३ विकेट लिए ।

यस विजयपछि नामिबियाले नेपाललाई उछिन्दै लिग २ को अंक तालिकामा पाँचौं स्थानमा उक्लेको छ । नामिबियाको १८ खेलमा १८ र नेपालको १९ खेलमा १७ अंक छ । लिग २ मा पाँचौं शृंखला खेलिरहेको नेपाल सोमबार पहिलो खेलमा नामियिबासँग ४० रनले पराजित भएको थियो । त्यसपछिको अर्को खेलमा नेपालले स्कटल्यान्डमाथी ५ विकेटको सानदार विजय हात पारी उत्कृष्ट पुनरागमन गरेको थियो ।

यसअघि कप्तान सन्दीपले उदाहरणीय बलिङ प्रदर्शन गरेपछि नेपालले विश्वकप क्रिकेट लिग २ मा नामिबियालाई मध्यम स्कोरमा रोकेको थियो । टस जितेर आएको नामिबिया ४९.२ ओभरमा १ सय ९९ रनमा अलआउट भएको थियो ।

सन्दीपले ४ विकेट लिएपछि राम्रो सुरुआत गरेको नामिबिया खुम्चिएको थियो । नामिबियास“गको पहिलो खेलमा पनि ४ विकेट लिएका सन्दीपले १० ओभरमा २ मेडन राख्दै २९ रनमात्र खर्चे ।

उनले क्रेग विलियम्सलाई ५, जान निकोल लोफ्टी इटोनलाई १९ फ्रयाक्लिनलाई ३ रनमा बोल्ड गरे भने कप्तान जेर्हाड इरसमसलाई ५३ रनमा विकेटकिपर आसिफ शेखबाट स्टम्प आउट गराए । इरसमसले ७० बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे ।

सोमपालले दुवै ओपनरलाई आउट गरेका थिए । लो ह्यान्ड्रे लवरेन्सलाई २ र डिभान ल कोकलाई २७ रनमा सोमपाल बोल्ड गरे । कोकले ३० बल खेली ५ चौका प्रहार गरे । सोमपालले १० ओभरमा ३३ रनमात्र खर्चे ।

बसिरले जेजे समिटलाई २७ रनमा आउट गरे । आउट हुनुको अघिल्लो दुई बलमा समिटले बसिरलाई चौका र छक्का प्रहार गरेका थिए । डेविड विज ४६ औं ओभरमा दुर्भाग्यपूर्ण रनआउट हुनु नामिबियाको दुर्भाग्य बन्यो । आदिलको बलमा रुबेन ट्रम्पेलमनले ड्राइभ गरेको बल बलरको खुट्टामा लागेर नन स्ट्राइकको स्टम्प ढलेपछि क्रिज बाहिर रहेका विज पेभेलियन फर्किए ।

विजले ट्रम्पेलमनसँग आठौं विकेटमा ४३ रनको महत्वपूर्ण साझेदारी गरे । ट्रम्पेलमनले ३५ बलमा १ चौकासहित १९ रन बनाए । उनलाई दीपेन्द्रले आउट गरे । दीपेन्द्रले अन्तिम ब्याटर स्कोल्ट्जलाई २ रनमा आउट गरे । विजले ५० बल खेली १ छक्कासहित ३४ रन बनाए ।