२०७९, ९ आश्विन आईतवार

भर्ना शुल्क नतिरेको भन्दै सुर्खेतमा २५ विद्यार्थी कक्षाबाटै निकालिए

सुर्खेत : वीरेन्द्रनगर नगरपालिकाको मंगलगढी चोकमा रहेको आदर्शराज सेकेन्डरी स्कुलले कक्षा १२ का २५ जना नियमित विद्यार्थीलाई निकालेको छ । समयमै भर्ना शुल्क नबुझाएको आरोप लगाउँदै उनीहरूलाई आज बिहानबाट पठनपाठनमै रोक लगाइएको हो ।

‘हामी यहाँका नियमित विद्यार्थी हौं । भर्ना फिस हामी बुझाउँछौ भन्दा पनि हामीलाई पढ्न दिइएन’, एक विद्यार्थीले भने ।

भर्ना शुल्क बुझाउने तयारी गरिरहँदा विद्यालयले अपमानजनक तरिकाले विद्यार्थीलाई निकालेको अभिभावकले गुनासो गरेका छन् । ‘बच्चालाई विद्यालयबाट लखेटेर के हुन्छ ? उनीहरूको मस्थिति के भयो ? किन विद्यालयले हामीलाई फोन गरेर पैसा नमागेको ? यो विद्यालयको दादागिरी हो ’, एक अभिभावक भन्छन् ।

विद्यालयका भाइस प्रिन्सिपल रमेश बस्नेतले बारम्बार भर्ना फिस लिएर आउन भनेपनि अटेर गरेकाले विद्यार्थीलाई निकालिएको स्वीकारे ।

‘हो २५ जनालाई आज हामीले निकालेका हौं । उनीहरुलाई बारम्बार फिस ल्याउन भनेका थियौं नल्याएपछि त्यो काम गर्न बाध्य भएका हौं’, उनले भने, ‘शनिबार र आइतबार भर्ना हुन भनेर समय दिएर पठाएका छौं ।’

जिल्ला शिक्षा समन्वय इकाइ सुर्खेतका प्रमुख भोजप्रसाद लम्साल विद्यार्थीलाई भर्ना नभएको बहानामा पढाइबाटै वञ्चित गर्न नमिल्ने बताउँछन् ।

‘कक्षा १२ मा विद्यार्थीहरू भर्ना हुनैपर्छ । फिस पछि दिने गरी विद्यालयले उनीहरूको नाम लेख्न पर्छ । अर्को विद्यालयमा विद्यार्थी जानै नपाउने भएका कारण विद्यार्थीको भविष्य डामाडोल हुने गरी त्यस्तो काम गर्न पाइँदैन । त्यही विद्यालयबाट रजिष्ट्रेसन फाराम भरिसकेका कारण विद्यार्थी अन्य विद्यालयमा पनि जान पाउँदैनन् । विद्यालयले जसरी पनि ति विद्यार्थीलाई अध्ययन गर्ने वातावरण मिलाउनुपर्छ ’, लम्सालले भने ।

सुर्खेतका सीडीओ खगेन्द्र रिजाल विद्यार्थीप्रति स्कुलको यो व्यवहार कानूनविपरीत भएको बताउँछन् । ‘यसबारेमा म कुरा गर्छु । त्यसरी विद्यार्थीलाई नै हतोत्साही हुने गरी काम गर्न त भएन नि ? के भएको रहेछ म बुझ्छु र आवश्यक कानूनी कुरा गर्छु ’, रिजालले भने ।