२०८१, २६ भाद्र बुधबार

सुरक्षित बस्तीलाई सुरक्षित स्थानमा सार्न आवश्यक

भनिन्छ विपद बाजा बजाएर आउँदैन् । प्राकृतिक विपत्ति त मानिसको काबुमा छैन । त्यस्तै, वीरेन्द्रनगर नगरपालिका–११ वादी समुदायमा अहिले बाढी र डुबानको पिरलोमा हुन्छ । पहाडमा बर्सेनि कान्ला भत्किने भयदेखि पहिरोको जोखिम हुन्छ । हिमालमा हिमपातका भयबाट हामी भयभित छौँ । प्रकोपहरू हाम्रो नियन्त्रणभन्दा बाहिर छन् । तर भौतिक संरचनाको फितलोपना, लापरबाही, लोभ, अदूरदर्शिताबाट पनि हामी सिकार बनेका रहेछौँ । विगतबाट तर्सिएर पनि पूर्वसतर्कतामा जाँगर बढ्दैन । वन फडानी, अव्यवस्थित सहरीकरण र प्रदूषणद्वारा सिर्जित जलवायु परिवर्तनजस्ता मानवीय कमजोरी तथा प्राकृतिक विपत्ति दुवै कारणबाट आज मुलुकले दुर्दशा भोग्नुपरेको देखिन्छ । बग्ने खोलानालाका विकास नहुनु, पानीको निकास नखोजिनु समस्या हो । आपत्कालीन सामानको तयारी, विज्ञको मतबाट समस्याग्रस्त स्थान निक्र्योल गर्ने, विपद् व्यवस्थापनमा जानकार व्यक्तिलाई संयोजन गर्ने व्यवस्थित निकाय नहुँदा बाँचेका प्रभावितको जीवन धराशायी बन्न सक्छ । यसर्थ जीवन जोगाउन तड्पिएका प्रभावित नेपालीलाई देशले ढिलासुस्ती नगरी सक्दो व्यवस्थापन गर्ने विषयमा स्थानीय सरकार चनाखो बन्नु आवश्यक छ । यद्यपि राज्यका सबै संयन्त्रको सक्रियताविना यस्ता समस्यामा न्यूनीकरण हुन नसक्ने देखिन्छ । कर्णालीमा यसभन्दा अघि पनि बाढी पहिरोमा परेर ठुलो धनजनको क्षति भएको छ । अबका दिनमा पनि विपद न्यूनीकरणका लागि जोखिममा रहेका बस्ती सुरक्षित स्थानमा सार्नु नै उपयुुक्त देखिन्छ ।