२०७९, २० असार सोमबार

फुकोट कर्णाली ४८० मेगावाट अर्ध–जलाशययुक्त आयोजनाको ईआइए प्रतिवेदन ।।

सुर्खेत :- ४८० मेगावाट विद्युत उत्पादन क्षमताको फुकोट–कर्णाली जलविद्युत आयोजनाले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआइए) स्वीकृति मागेको छ । विद्युत उत्पादन कम्पनीले ईआइए प्रतिवेदन स्वीकृतिका लागि करिब एक महिनाअघि ऊर्जा मन्त्रालय पठाएको हो ।
ऊर्जाले वन तथा वातावरण मन्त्रालयमा स्वीकृतिका लागि पठाउनेछ । वन मन्त्रालयले स्वीकृति दिएपछि प्रतिवेदनले अन्तिम रूप पाउनेछ ।
यो आयोजनाको विस्तृत डिजाइन र अध्ययन भने पुरा भइसकेको आयोजना प्रमुख हिरामान वाइबाले बताए । ‘हामीले सम्भाव्यता, डिटेल डिजाइन, बिडिङ डकुमेन्ट लगायतका काम सकिसकेका छौ,’ उनले भने,‘इआइए रिपोर्ट स्वीकृति हुने क्रममा छ । लगानीको मोडालिटी टुंग्याउन पाए निर्माणमै जान सक्छौ ।’
यो आयोजनाको विस्तृत सम्भाव्यता अध्ययनका लागि १० अक्टोबर २०१७ मा सम्झौता भएर काम थालिएको थियो त्यसको तीन वर्षपछि अर्थात २०२० नोभेम्बर अध्ययन प्रतिवेदन तयार भएको हो ।
फाइनल बिडिङ डकुमेन्ट पनि २०२१ जुलाइमै तयार भइसकेको छ । अहिले आयोजनाको साइटमा मास्टर प्लान अनुसार एक्सेस रोड निर्माण सकेर दुईवटा भवन निर्माणको काम भइरहेको छ । त्यसैगरी टेष्ट अडिट टनेल खन्ने काम पनि चलिरहेको वाइबाले बताए । उनका अनुसार टेष्ट टनेल खन्ने काम ९० प्रतिशत पुरा भएको छ ।
यो आयोजना कालिकोटको पचाल झरना गाउँपालिका, रास्कोट नगरपालिका, सान्नी त्रिवेणी गाउँपालिका र खाँडाचक्र नगरपालिका हुदै बग्ने कर्णाली नदीको खण्डमा निर्माण हुनेछ ।


प्रस्तावित आयोजनाको बाँधको दायाँ तर्फको भाग सान्नी त्रिवेणी गाउँपालिका–३ मा पर्छ । बायाँतर्फको भाग खाँडाचक्र नगरपालिका–११ मा रहनेछ । मुख्य बाँधको उचाइ जगदेखि १६० मिटर तथा नदीको पिधको स्तरबाट १०९ मिटर हुनेछ । बाँधको माथिल्लो भाग(क्रेस्ट) को लम्बाइ ३१३ मिटर र चौडाई १० मिटर हुनेछ ।
विद्युत गृह सान्नी त्रिवेणी गाउँपालिकाको १ सेरी गाउँको दक्षिण पश्चिम भागमा निर्माण गरिनेछ ।
यस आयोजनाको लागि ८.४ मिटर व्यास र क्रमश ५,८३१.६६ मिटर र ५५९७.२ मिटर लम्बाइका २ वटा मुख्य (हेडरेस) सुरुङमार्ग निर्माण गरिनेछ। यो आयोजनाको कुल हेड (ग्रस हेड) १६८.६२ मिटर हुनेछ ।
मुख्यतः विद्युतको अधिकतम माग हुने समयमा संचालन गर्ने उदेश्यका साथ यो आयोजना निर्माण गर्न लागिएको हो । यस आयोजनाबाट पचाल झरना गाँउपालिका,रास्कोट नगरपालिका, सान्नी त्रिवेणी गाउँपालिका र खाडा चक्र नगरपालिकाकाम क्षेत्रहरु प्रभावित हुने छन् ।
आयोजनाका लागि १०७५ रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेछ। करिब १ हजार रोपनी जग्गा अधिग्रहण भइसकेको छ । ‘डुबान पर्ने क्षेत्रको जग्गा अधिग्रहण भइसकेको छ । घर, टहरा लगायतका संरचनाहरु अधिग्रहण गर्न मूल्यांकन सकेर प्रक्रिया अघि बढाइएको छ,’ वाइबाले भने ।
आयोजनाबाट निस्कने निर्माण सामाग्री, निर्माण कम्पनीका लागि क्याम्प लगायतका लागि थप २०५ रोपनी जग्गा अधिग्रहण गर्नुपर्छ । त्यसको सूचना छिट्टै निकालिने उनको भनाइ छ। १३५ रोपनी जग्गा सुरुमै अधिग्रहण गरेर आयोजनाको संरचना र साइट अफिसको काम सुरु गरिएको हो ।
त्यसैगरी जिल्ला प्रशासन कार्यालय कालिकोट एक सूचना निकालेर अधिग्रहण भइरहेका जग्गामा संरचनाहरु निर्माण नगर्न निर्देशन दिएको छ । सोमबार सूचना निकालेर अधिग्रहण गरिएको जग्गामा धमाधम संरचना निर्माण गरिरहेको भन्दै त्यसमा रोक लगाएको हो ।
आयोजनाले सर्वेक्षण अनुमति पाएको भएपनि उत्पादन (जेनेरेसन) का लागि लाइसेन्स लिएको छैन । असारमा उत्पादन लाइसेन्सका लागि आवेदन दिने योजना रहेको वाइबाले बताए । त्यसैगरी आयोजनाले विद्युत खरिद बिक्री सम्झौता (पीपीए) का लागि पनि नेपाल विद्युत प्राधिकरणमा आवेदन दिएको छ ।
स्वीकृति हुन भने बाँकी छ । प्राधिकरणले नदी प्रवाहमा आधारित (आरओआर) प्रकृतिको आयोजनाको पीपीए रोकेको भएपनि जलाशय र अर्ध–जलाशय प्रकृतिका आयोजनाहरुको पीपीए रोकेको छैन ।
लगानीको मोडालिटी टुंगो लाग्नै बाँकी
आयोजनाका लागि ९२ अर्ब ३ करोड रुपैयाँ लाग्ने विस्तृत अध्ययनले देखाएको छ । तर कसरी लगानी जुटाउने भन्ने एकिन हुन बाँकी छ ।


सरकारले लगानी गर्ने, स्थानीय बैक तथा वित्तीय संस्थाले लगानी गर्ने वा वैदेशिक लगानी ल्याउने लगायतका मोडालिटीहरुमा छलफल भइरहेको छ । ‘अहिलेसम्म यसैगरी जाने भन्ने मोडालिटी टुंगिएको छैन । धेरैवटा मोडालिटीमा छलफल गरिरहेका छौं । नेपालभित्रका बैंक तथा वित्तीय संस्थाहरुसँग पनि छलफल चलिरहेको छ,’ उनले भने ।
फाइनान्सियल क्लोजर भए निर्माण सबै पूर्व तयारी पुरा हुने बताइएको छ । त्यसै गरी स्थानीयाबासीले समेत छिट्टै कन्स्ट्रक्सन जानुपर्ने बताउँदै आएका छन् । ‘कुनै विरोध अवरोध छैन । तत्कालै सामान लिएर निर्माण जान सकिने अवस्था छ। स्थानीयहरु एकदमै उत्साहित हुनुहुन्छ । हामीलाई पनि काम गर्न सकारात्मक ऊर्जा आएको छ,’ उनले भने । विस्तृत अध्ययन अनुसार निर्माण थालेको ५ वर्षमा आयोजना पुरा गर्न सकिनेछ ।
यो आयोजनाबाट हिउँद (सुक्खा) याममा ७४४.७९ गिगावाट घण्टा र बर्खायाममा १७०३.८ गिगावाट घण्टा वार्षिक विद्युत उत्पादन गर्न सक्छ । २४४७.८८ गिगावाट घण्टा कुल वार्षिक विद्युत उत्पादन क्षमता छ ।