२०८१, ७ बैशाख शुक्रबार

‘छोरी बुहारी छात्रवृत्ति’ पाएका व्यक्तिबारे कर्णाली प्रदेश सरकार बेखबर

सुर्खेत । कर्णाली प्रदेश सरकारले छोरी बुहारीलाई शिक्षामा पहुँच पु¥याउने उद्देश्यका साथ आर्थिक वर्ष ०७५/७६ बाट ‘छोरी बुहारी छात्रवृत्ति’ कार्यक्रम सुरु गरेको थियो । प्राविधिक शिक्षाका लागि छात्रवृत्ति पाएका ती विद्यार्थीबारे अहिले पनि कर्णाली प्रदेश सरकार बेखबर भएको छ ।
‘छोरी बुहारी छात्रवृत्ति’ पाएकालाई कर्णाली प्रदेश सरकारले अनिवार्य तीन वर्षे प्रदेश सरकारको सेवा गर्नुपर्ने कार्यविधि बनाएर छात्रवृत्ति दिएका थियो । अहिले ती छात्रवृत्ति पाएका विद्यार्थीको अवस्थाबारे कर्णाली प्रदेश सरकारले कुनै चासो देखाएको छैन । सरकारले कार्यक्रमअन्तर्गत आव ०७५/७६ मा एक सय ५२, आव ०७६/७७ मा एक सय ६६ र आव ०७७/७८ मा एक सय ३० जनालाई छात्रवृत्ति दिएको थियो ।
आव ०७५/७६ मा यो कार्यक्रमअन्तर्गत प्रतिव्यक्ति एक लाख २६ हजार, आव ०७६/७७ मा प्रतिव्यक्ति एक लाख २६ हजार र आव ०७७/७८ मा प्रतिव्यक्ति एक एक लाखका दरले छात्रवृत्ति दिएको थियो ।
कर्णाली सरकारले ‘छोरी बुहारी’लाई प्राविधिक शिक्षाका लागि चार करोड रुपैयाँ बढी छात्रवृत्तिमा खर्च गरिसकेको छ । तर, त्यो छात्रवृत्ति पाएका पहिलो व्याजका विद्यार्थी (०७५/७६) प्राविधिक कक्षा उत्तीर्ण गरिसकेका छन् । उनीहरू कहाँ छन्, के गर्दैछन ? रोजगारीको अवस्था के छ ? भन्नेबारेमा सरकारले कुनै चासो लिएको छैन ।
कर्णाली सरकारले ‘छोरी बुहारी’लाई प्राविधिक शिक्षाका लागि छात्रवृत्ति लिएका विद्यार्थीको खोजी गरिने कर्णाली प्रदेश शिक्षा निर्देशनालय सुर्खेतका निमित्त कार्यालय प्रमुख दीपा हमालले बताइन् । ‘अब को विद्यार्थी, कहाँ के गरिरहेका छन् ? भनेर खोजिने छ । हरेक जिल्लामा जान सम्भव छैन । छात्रवृत्ति पाएकामध्ये स्याम्पलिङ गर्दै आवश्यक खबर गर्छौं, खोजी गर्छौं,’, उनले भनिन्, ‘यो छात्रवृत्तिभन्दा पनि प्रोत्साहन रकमका पमा वितरण भइरहेको हो ।’