२०७९, ७ जेष्ठ शनिबार

कर्णालीका मुख्यमन्त्री शाही गृह जिल्लामा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही गृह जिल्ला हुम्ला पुगेका छन् । शुक्रबार बिहान हुम्ला आएको मुख्यमन्त्री शाहीको टोलीमा प्रमुख सचिव, मुख्यमन्त्री कार्यालयका सचिव, स्वास्थ्य महाशाखाका प्रमुखलगायतको सहभागिता रहेको छ ।
मुख्यमन्त्रीको टोलीलाई सिमकोट विमानस्थल स्वागत गरिएको छ । मुख्यमन्त्री भएपछि दोस्रोपटक हुम्ला पुगेका शाहीले शुक्रबारबाटै जिल्लाका विभिन्न कार्यक्रममा सहभागिता जनाएका भएका छन् ।
उनले जिल्लाका सात वटै गाउँपलिकाका योजना शाखा र शाखा प्रमुखहरुको लागि सञ्चालन हुने योजना तर्जुमा, मध्यकालीन खर्च र दिगो विकास लक्ष्यसम्बन्धी तालिमको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
त्यसलगत्तै मानसिक स्वास्थ्यसम्बन्धी स्वास्थ्यकर्मीहरुको तालिमको समेत उद्घाटन गर्ने कार्यक्रम रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । शुक्रबार नै मुख्यमन्त्री शाही मुख्यमन्त्री रोजगार कार्यक्रमको अन्तरक्रिया कार्यक्रममा सहभागी हुनेछन्। शनिबार जिल्ला अस्पताल हातामा निर्माण हुने नयाँ अस्पताल भवनको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै छोरीको बैंक खातासम्बन्धी कार्यक्रममा मुख्यमन्त्री शाहीले सहभागिता जनाउने कार्यक्रम रहेको निजी सचिवालयले जनाएको छ ।
त्यसैगरी गाउँपालिकाका प्रमुख र उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतसँग छलफल तथा निर्देशन दिने कार्यक्रमसमेत रहेको छ ।
जिल्लास्थित सरकारी कार्यालय प्रमुखलाई निर्देशन दिने कार्यक्रमसमेत तय भएको प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिइन् ।
दुईदिने हुम्ला भ्रमणपछि मुख्यमन्त्रीको टोली आइतबार सुर्खेत फिर्ता हुने उनले बताइन् ।