२०७८, ९ आश्विन शनिबार

कतै विद्यालय सञ्चालन, कतै अन्यवल

सुर्खेत । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम कम भए संगै दैलेखको भगवतीमाई गाउँपालिकाले भदाँै एक गतेबाट विद्यालय सञ्चालन गरीरहेको छ । विद्यार्थीहरुलाई स्वास्थ्यका मापदण्डहरु पालना गर्ने, सामाजिक दुरी कायम गर्ने लगायतका निती बनाएर गाउँपालिकाले पठनपाठन सञ्चालन गरीरहेको छ । ३२ वटा सरकारी विद्यालय र एक वटा नीजि विद्यालय रहेको भगवतीमाईमा निरन्तर पठनपाठन अघि बढाइएको गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले जानकारी दिए ।

पछिल्लो समय देशमा यातायात क्षेत्र पूर्ण रुपमा खुलेको, विभिन्न राजनीतिक सभा, सम्मेलनहरु भइरहेको अवस्थामा विद्यालयलाई लामो समय सम्म बन्द राख्नु नहुने भन्ने उद्देश्यका साथ स्वास्थ्य मापदण्डहरुको पालना गर्दै विद्यालय सुरुवात गरिएको अध्यक्ष थापाको भनाई छ ।

सामाजिक दुरी कायम गरिएको, कुनै विद्यार्थीहरु बिरामी भएमा उनीहरुको उपचारको लागि स्वास्थ्यकर्मीको व्यवस्थापन गरिएको समेत उनले बताए । यस्तै कालिकोटको पचालझरना गाउँपालिकाले पनि विद्यालयहरु सञ्चालन गरीरहेको छ । गाउँपालिका भित्र रहेका विद्यालयहरु आन्तरिक रुपमा खुले पनि आधिकरीक रुपमा भदौँ २० गतेबाट खुल्ने गाउँपालिकाका उपाध्यक्ष तारा न्यौपानेले बताइन् ।

अन्य स्थानीय तहले पनि आन्तरिक रुपमा विद्यालयहरु सुरुवात गरे पनि आधिकरीक रुपमा विद्यालयहरुको पढनपाठन अघि बढाउन सकेका छैनन । पछिल्लो समय खोप अभियान, संक्रमणको जोखिम कम हुँदै गए संगै एक, एक गरेर बिस्तारै स्थानीय तहले विद्यालय सञ्चालनमा जोड दिइरहेका छन् ।

तर कुनै स्थानीय तह भने केन्द्र सरकारको निर्णय कुरीरहेका छन् । सुर्खेतको भेरीगंगा नगरपालिकाले विद्यालय सञ्चालन गर्ने बिषयमा कुनै छलफल सम्म गर्न सकेको छैन । नगरपालिकाका प्रमुख भूपेन्द्रबहादुर चन्दले विद्यालय सञ्चालन गर्ने बिषयमा कुनै छलफल समेत नभएको बताए ।

‘विद्यालय सञ्चालन गरेपछि बिचमै प्रकोप फैलिने हो की भन्ने डर छ,’ उनले भने, ‘प्रशासनबाट पनि कुनै निर्देशन आएको छैन । हामी यो बिषयमा तत्काल बसेर छलफल गछौँ । छलफल पछि के निश्कर्ष आउँछ ।’ यस्तै दैलेखको महावु गाउँपालिकाले पनि विद्यालय सञ्चालन गर्ने कुरामा कुनै पनि छलफल समेत गर्न सकेको छैन, सुर्खेतको सिम्ता गाउँपालिकाले समेत विद्यालय सञ्चालनमा कुनै पनि छलफल समेत अघि बढाउन सकेका छैनन् ।

पछिल्लो समय सरकारले स्मार्ट लकडाउनको अवधारणा ल्याएको छ । जसमा कोरोना संक्रमणको जोखिमको आधारमा विद्यालय सञ्चालन गर्न सकिने वा नसकिने निर्धारण गरिने छ । स्मार्ट लकडाउनको आधारमा हाल सम्मको तथ्याङ्क हेर्दा सुर्खेतमा वीरेन्द्रनगर नगरपालिका र भेरीगंगा नगरपालिका बाहेक अन्य स्थानीय तहहरुमा विद्यालय सञ्चालन गर्न सक्ने अवस्था रहेको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले अन्तिम एक हप्ताको तथ्याङ्कको आधारमा विद्यालय सञ्चालनको अनुमति दिने बताए । पछिल्लो समय प्रशासनले विद्यालय सभा सम्मेलनमा रोक लगाएको छ । तर राजनीतिक दलहरुले प्रशासनको नियमलाई अटेर गर्दै विभिन्न सभा सम्मेलनहरु गर्दै आएका छन् ।