२०८१, ८ बैशाख शनिबार

गाउँका डाक्टर ‘बरेल बाजे’

जडिबुटीबाट औषधि बनाउँदै भक्तबहादुर ‘बरेल बाजे’ । फोटो ; हाम्रो नयाँ नेपाल दैनिक ।

सुर्खेत । वीरेन्द्रनगर–९ निकासखोला, ग्राबेल गरेको हिले सडकबाट झण्डै एक सय मिटर पश्चिममा पर्छ ‘बरेल बाजे’ अर्थात भक्तबहादुर बुढाको घर । सानो चिटिक्क परेको घर, वरपर अन्यघरहरु अलि टाढा रहेको भक्तबहादुरको घरमा उनी संगै उनकी श्रीमती जहरा बुढा बस्दै आएका छन् । वरवर खेत, मकै बारी रहेको भक्तबहादुरको दैनिकी तिनै खेत, बारी, गाई, भौसीको हेरचाहमै बित्ने गरेको छ ।

उनको घरलाई सबैले बरेल बाजेको घर भनेर चिन्दछन् । गाउँमा उनलाई खोज्नको लागि नयाँ नयाँ मान्छेहरु जाने गर्दछन् । कारण उनको वन जंगलमा पाइने जडिबुटी सम्बन्धी राम्रो ज्ञान भएकाले हो । भक्तबहादुरले जडिबुटी मार्फत थुप्रै बिरामीको सफल उपचार गरीसकेका छन् । ७१ बर्षीया उनी झण्डै ४० बर्ष पहिले जुम्लाको बरेल गाउँबाट पश्चिम सुर्खेतको रेक्चामा बसाई सरेर आए त्यहाँ झण्डै २० बर्ष बसेपछि उनी विगत २० बर्ष देखि वीरेन्द्रनगर–९ मा बस्दै आएका छन् ।

हाल उनी जन्डिस, बाध रोग, सर्पले टोकेको, बिसाएको जस्ता रोगको जडिबुटी मार्फत उपचार गर्ने गर्दछन् । आज भन्दा ४० बर्ष पहिले आफु जन्डिसको बिरामी भएका उनले आफ्नो उपचार गर्ने गुरु मार्फत झारफुकको मन्त्र सिकेको बताए ।

साथै सोहि समयमा जडिबुटीको औषधि बेच्ने मानिसहरु मार्फत जडिबुटीको औषधि सम्बन्धी सम्पूर्ण जानकारी लिएको उनी बताउँछन् । हाल उनीकहाँ उपचारको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाहरु, सुदुरपश्चिमको अछाम लगायतका ठाउँहरु, बाँके, दाँङ लगायतका ठाउँहरुबाट आउने गरेको उनले बताए ।

दाँङ, नेपालगञ्ज देखि लखनौँ सम्म उपचारको क्रममा महिनौँ बसेका बिरामीहरुलाई पनि आफुले उपचार गरेर पूर्ण रुपमा निको बनाएको उनी बताउँछन् । ‘केहि महिना अघि मात्रै पाँच महिना नेपालगञ्ज अस्पतालमा बसेका एक जना जन्डिसको बिरामी म कहाँ आउनुभयो,’ उनले भने, ‘मैले झारफुक गरे, अन्य औषधिहरु खुवाए पछि उहाँ निको भएर जानुभयो । निको भए पछि भन्नुभयो ‘हेर बाजे झारफुक गर्नेको विश्वास मानेको थिएन् मलाई तपाईले गर्दा च््वाक्टै सन्चो भयो ।’

उनी जस्तै अस्पतालमा लाखौँ खर्च गरेर पनि सन्चो नभएका बिरामीहरु उनी मार्फत सन्चो भएर जाने गरेका छन् । ‘ल्याउदा बोकेर ल्याएका मानिसहरु पनि झारफुक गरेपनि हिँड्न सक्ने भएर गएका छन्,’ उनले भने, ‘उपचार निको भए पनि बेला बेलामा कोसेली लिएर आउँछन् हामीलाई त्यसैमा खुसी लाग्छ ।’

सानोमा जुम्लामा नै हुर्कीएका भक्तबहादुर जुम्लामा धामी, झाँक्रि, झारफुकमा विश्वास गर्ने भए पनि बजार क्षेत्रमा त्यसमा विस्वास नगर्ने गरेको बताउँछन् । ‘जुम्लामा धामी, झाँक्रिको विश्वास गर्छन,’ उनले थपे, ‘यहाँ त गर्दैनन् । उपचारको लागि अस्पताल जान्छन् सबै उपचार गर्दा गर्दा सबै पैसा सकेपनि अन्तिममा विकल्प मानेर म कहाँ आउँछन् ।’

उनका तिन छोरी र दुई छोरा छन् । छोरा छोरी सबैले विवाह गरेर छुट्टाछुट्टै बसेका छन् भने बरेल बाजे गाउँमा आफ्नो पुरनै दैनिकिमा व्यस्त छन् । खेतबारीमा धान गोड्ने, घाँस काट्ने, गोरु चराउने जस्ता काममै उनको दैनिकि बित्ने गरेको छ ।