२०७८, ९ आश्विन शनिबार

पश्चिम नेपालमा लगातार बर्षा, राजमार्गमा पहिरोको जोखिम

सुर्खेत । मनसुन सक्रिय भए संगै पश्चिम नेपालभर लगायतार रुपमा बर्षा भइरहेको छ । मनसुनको न्यून चापिय रेखा नेपालको तराई तथा मध्य भू–भागको केही नजिक रहेकाले पश्चिम तराईका जिल्लासँगै पहाडी तथा हिमाली जिल्लामा मंगलबारबाट लगातार रुपमा वर्षा भइरहेको छ । बर्षाका कारण कर्णाली प्रदेशमा रहेका अधिकांश सडकहरुमा पहिरोको जोखिम बढेको छ ।

अधिकांश कच्ची सडक भएको कर्णालीमा बर्षाका कारण धेरैजसो कच्ची सडकहरु अवरुद्ध भएका छन् । तीन÷चार दिन अघि देखि मनसुन सामान्य सक्रिय देखिए पनि मंगलबार देखि मनसुन बढी सक्रिय देखिएको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुका प्रमुख विनोद पराजुलीले जानकारी दिए । साथै उनले अझै केहि दिन मनसुन सक्रिय रहने बताए ।

कार्यालयले दिएको तथ्याङ्क अनुसार शुक्रबार कर्णाली तथा सुदुरपश्चिमका केहि क्षेत्रहरुमा मेघ गर्जन, चटयाङ्ग सहित भारी बर्षाको सम्भावना रहेको छ । विशेष गरी सुर्खेत, दैलेखका तत्लो तटिय क्षेत्रमा धेरै बर्षाको सम्भावना रहेको कार्यालयले जानकारी दिएको छ । यस्तै शनिबार पनि कर्णाली तथा सुदुरपश्चिमका केहि क्षेत्रहरु सहित देशैँभरी मेघ गर्जन, चटयाङ्ग सहित भारी बर्षाको सम्भावना रहेको कार्यालयले जानकारी दिएको छ ।

बिहीबार कर्णाली प्रदेशको कालीकोटमा नौ, मुगु र जुम्लामा तीन÷तीन, सुर्खेतमा १५ र जाजरकोटमा २० मिलिमिटर वर्षा भएको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा ११, डडेलुधरामा २०, बाजुरामा २६ र डोटीमा २४ मिलिमिटर वर्षा भएको कार्यालयले जानकारी दिएको छ ।

शुक्रबार र शनिबार ठूला बर्षा हुने भएकाले सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनिरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह समेत गरेको छ । प्राधिकरणले बिहीबार एक सुचना जारी गर्र्दै जोखिमको खतरा रहेको भन्दै सदकर्ता अपनाउन आग्रह गरेको हो ।

निरन्तरको बर्षाका कारण बिहीबार रत्न राजमार्गको बबई–छिन्चु खण्डको हर्रेमा पहिरो जाँदा केहि समय सडक अवरुद्ध भएको थियो । हर्रेस्थित नेपाली सेनाको चेकपोस्ट देखि पाँच सय मिटर बबई तर्फ पहिरो गएपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिए । उनका अनुसार बिहीबार साँझबाट सडक पूर्ण रुपमा सञ्चालनमा आएको छ ।

बर्षाका कारण कर्णाली राजमार्गमा विशेष पहिरोको जोखिम बढेको छ । राजमार्गको दैलेख र कालिकोट क्षेत्रमा अध्याधिक मात्रामा पहिरोको जोखिम बढेको हो । कालिकोटको गगने खोल, कालेखोला, घट्टे खोला, दैलेख र कालिकोटको सिमाना क्षेत्र, पातलखोला देखि डुङ्गेश्वर क्षेत्रमा पहिरोको जोखिम रहेको कर्णाली प्रदेश प्रहरीले जानकारी दिएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् एसपी माधवप्रसाद क्षेष्ठले विशेषगरी कर्णाली राजमार्गमा पहिरोको जोखिम बढेको बताए । प्रत्येक जिल्ला जिल्लामा विपद् उद्दार टोली सक्रिय भएको भन्दै श्रेष्ठले राजमार्गहरुमा आउने समस्या समाधानको लागि निरन्तर सक्रिय भएको बताए ।