२०७८, ९ आश्विन शनिबार

हिलाम्मे मध्यपहाडी राजमार्ग, यात्रा गर्नै सकस

मध्यपहाडी राजमार्ग अन्तर्गत दैलेखको भैरवी गाउँपालिका रावतकोट क्षेत्रमा बिग्रिएको हिले सडक । तस्बिरः हाम्रो नयाँ नेपाल दैनिक ।

सुर्खेत । निरन्तरको बर्षाका कारण मध्यपहाडी राजमार्ग हिलाम्मे बनेको छ । निर्माणाधिन राजमार्ग निरन्तर बर्षाका कारण हिलाम्मे बनेको छ भने ठाउँ ठाउँमा बाढि, पहिरो समेत गएको छ । दैलेखमा भगवतीमाई गाउँपालिकाको सुयाडा देखि निर्माण भइरहेको सडक पश्चिममा राकम सम्म हिलाम्मे बनेको छ । दैलेखमा कुल एक सय २५ किलोमिटर पर्ने उक्त राजमार्ग हाल सम्म २६ किलोमिटर मात्रै बजार क्षेत्रमा पिच भएको छ भने अन्य सडक हिले छ । हिले सडकमा पैदल तथा सवारी चालकहरुले हैरानी खोप्नु परेको छ ।

राजमार्ग स्तरउन्नतीको काम बर्षौ पहिलाबाट सुरु भए पनि हाल सम्म काम सम्पन्न हुन सकेको छैन । हिउँदमा ग्रावेल गरिने, नाला निर्माण गरीने सडक बर्षायाममा पुन उक्तै हुने गरेको छ । लगातारको बर्षाका कारण राजमार्गमा पैदल हिँड्न समेत सकस हुने गरेको दैलेखको भैरवी गाउँपालिका–२ का सोविन कुमार थापाले बताए ।

‘समथर ठाउँमा बाटो राम्रो भए पनि भिरालो, खोलाहरु भएको ठाउँमा बाटो नराम्रो संग बिग्रिएको अवस्था छ’ उनले भने, ‘राजमार्ग स्तरउन्नतिको काम आज भन्दा ५ बर्ष पहिलेबाट भए पनि पिच हुने कुनै अत्तोपत्तो छैन । बर्षायाममा हिले सडकमा सवारी त के पैदल हिँड्न नै मुस्किल पर्ने गरेको छ ।’

ठूला, ठूला खोला भएको क्षेत्रहरु, साँघुरा बाटो, भिडपाखा भएको क्षेत्रमा सवारी चलाउँदै एकदमै जोखिम हुने गरेको केहि समय अघि मध्यपहाडी राजमार्ग हुँदै चामुण्डा पुगेका सुर्खेतको वीरेन्द्रनगर–३ का राकेश भण्डारीले बताए ।

‘हिउँदमा ग्रावेल गरेको सडकमा सवारी चलाउन एकदमै सहज हुन्छ तर बर्षायाममा सबै बगिहाल्छ अनि सडक हिले हुन्छ,’ उनले भने, ‘हिले सडकमा गाडी फस्छन् । कति गाडी त बाटोबाटोमा बिग्रिएर थन्किएका छन् । कति सवारीहरु बिचबाटोमै अलपत्र पर्छन ।’

बर्षायामका कारण राजमार्गको अधिकांश कामहरु रोकिएको मध्यपहाडी राजमार्ग दैलेख कार्यालयका प्रमुख अर्जुन कुमार बमले जानकारी दिए । ‘बर्षायामका कारण अधिकांश कामहरु रोकिएका छन्,’ उनले भने, ‘निर्माणको चरण भएका कारण धेरैजसो सडक बिग्रिएको अवस्था छ । बर्षा लगत्तै हामी पुन सडकलाई निरन्तर अघि बढाउँछौँ ।’ साथै उनले २०७९ मा दैलेख सडक खण्ड अन्तर्गत पिच (कालोपत्रे)को काम सम्पन्न गर्ने बताए । साथै उनले तिन वटा पुल निर्माणको चरणमा रहेको समेत जानकारी दिए ।

कर्णाली राजमार्गमा निरन्तर पहिरो

कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको शुभकालीका गाउँपालिका–१ कालेखोलामा पहिरोमा परी एक जनाको मृत्यु भएको छ । बुधबार बिहान ५ बजे कर्णाली राजमार्गको पहिरोमा च्यापिएर शुभकालीका गाउँपालिका–१ की २५ वर्षीया बिमला सुनारको मृत्यु भएको हो ।

राजमार्ग माथिबाट आएको ढुङ्गाले च्यापिएको अवस्थामा भेटिएको सुनारलाई प्रहरीले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल कालीकोटतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख चक्रबहादुर शाहले जानकारी दिए ।

वर्षातको कारण सुर्खेत–जुम्ला जोड्ने कर्णाली राजमार्गको दुई ठाउँमा पहिरो गएका कारणले सो राजमार्ग अवरुद्ध रहेको कालिकोटका प्रहरी प्रमुख शाहले बताए । बिहान दैलेख र कालिकोटको सिमानामा पर्ने कालेखोला र एसमोडमा पहिरो खसेको छ’, उनले भने, “पहिरोका कारण यातायातका साधन बीच बाटोमै रोकिएका छन् ।’ अहिले पहिरो पन्छाउने काम भइरहेको प्रहरी प्रमुख शाहले जानकारी दिए ।