२०७८, ८ आश्विन शुक्रबार

मास्क अनिवार्य, खोप अभियानलाई तिव्रता दिन आग्रह

सोमबार विश्व स्वास्थ्य संगठनका प्रतिनिधि र कर्णाली प्रदेश सरकारका प्रतिनिधि बिच भएको छलफल । तस्बिरः हाम्रो नयाँ नेपाल दैनिक ।

सुर्खेत । कोरोना भाइरस (कोभिड–१९) दोस्रो लहर र आगामी दिनहरुमा आउन सक्ने खतराको बिषयमा कर्णाली प्रदेश सरकार र विश्व स्वास्थ्य संगठनको टोली बिच छलफल भएको छ । कर्णालीमा कोरोना भाईरस (कोभिड–१९)को संक्रमण, रोकथाम, नियन्त्रण तथा खोपको अवस्थाबारे जानकारी लिन आएको संगठनको टोलीले सबैले मास्क अनिवार्य लगाउदै खोप अभियानलाई तिव्रता दिन आग्रह गरेको छ ।

सोमबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रमुख सचिव गणेशप्रसाद पाण्डे, विश्व स्वास्थ्य संगठन नेपाल प्रतिनिधि डा.राजेश संभाजीराव पाण्डे, स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारी, प्रदेश स्वास्थ्य निर्देशक रविन खड्का लगायतको टोली बिच छलफल भएको हो ।

छलफलमा विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि पाण्डेले कोरोना नियन्त्रणको अन्तिम उपाएर खोप भएको भन्दै जति सक्दो चाँडो खोप अभियालाई तिव्रता दिन आग्रह गरेका छन् । भारत, चीन, अमेरिका लगायतका देशहरुको उदाहरण दिँदै संगठनका प्रतिनिधि पाण्डेले खोप नै कोरोना नियन्त्रणको अन्तिम उपाए भएको बताए । संगठनको टोलीले मास्क अभियानलाई जारी राख्नै सबै नागरिकले आ–आफ्नो ठाउँबाट स्वास्थ्य मापदण्डको पालना गर्न आग्रह गरेको प्रदेशका प्रमुख सचिव गणेशप्रसाद पाण्डेले जानकारी दिए ।

छलफलमा मुख्यमन्त्री शाहीले कोभिड नियन्त्रणका लागि प्रदेश सरकारले सुरुदेखि नै प्रभावकारी कदम चालिरहेको बताए । सबै नागरिकलाई खोप उपलब्ध गराउने कार्यमा आवश्यक सहयोग एवं समन्वयका लागि विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरुलाई आग्रह समेत गरेका छन् । छलफल पश्चात विश्व स्वास्थ्य संगठनको तर्फबाट १७५ थान कन्सन्ट्रेटर पनि हस्तान्तरण गरिएको छ । संगठनको टोलीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई कन्सन्ट्रेटर हस्तान्तरण गरेको हो ।