२०७८, ९ आश्विन शनिबार

कालिकोट हुँदै विद्युतको राष्ट्रिय प्रशारण लाईन जुम्ला

सुर्खेत । साविक कर्णाली अञ्चलको कालिकोट हुँदै विद्युतको राष्ट्रिय प्रशारण लाईन जुम्ला पुगेको छ । लामो समयको बेग र प्रतिक्षा पछि जुम्लाबासीले विद्युत सुविधा पाएका छन् । आईतबार देखि जुम्ला राष्ट्रिय प्रशारण लाइनमा जोडिएको हो । यसअघि राष्ट्रिय प्रशारण लाइनको पहुँचमा नपुग्दा जुम्लाबासी अध्यारोमा बस्न बाध्य थिए । बैकल्पिक उर्जा र दियालोका भरमा रहेका जुम्लाबासी राष्ट्रिय प्रशारण लाइन जोडिए पछि खुसी भएका छन् ।

यस अघि जुम्लामा स्थानीय खोलाबाट उत्पादन गरिएको विद्युत सेवा थियो तर दिगो र भरपर्दाे नहुदाँ स्थानीयले सास्ती खेप्नु परेको थियो । स्थानीय खोलाबाट उत्पादन गरिएको विद्युत भरपर्दाे नहुँदा जुम्ला सदरमुकामबासी दैनिक १८ घण्टासम्मको लोडसेडिङको मारमा थिए । तर अब राष्ट्रिय प्रशारण लाइनमा जोडिएपछि सदरमुकामबासी विद्युतको समस्याबाट हट्ने छन् ।
नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रले सुर्खेत, दैलेख, कालिकोट हुँदै ११ केवी प्रशारण लाईन जुम्ला पुगेको जानकारी दिएको छ । साथै उक्त प्रशारणलाई सिँजा हुँदै मुगुसम्म विस्तार गर्ने तयारी छ । जुम्लाको सिंजा क्षेत्रहुदै राष्ट्रिय प्रशारण लाइन मुगु पु¥र्याइने नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख गौरव पाण्डेले जानकारी दिए ।

जुम्ला राष्ट्रिय प्रशारण लाइनमा जोडिए पनि तत्कालका लागि जुम्लामा ५ सय किलोवाट विद्युत मात्रै खपत हुने स्थिती छ । हाल कर्णाली राजमार्ग क्षेत्रमा मात्रै विद्युतका पोल विस्तार गरिएकाले राष्ट्रिय प्रशारण लाइन पुगेपनि तत्काल सबै जुम्लावासीले विद्युत सेवा उपभोग गर्नसक्ने स्थिती छैन ।

हाल जुम्लाको तिला र तातोपानी गाउँपालिका राजमार्ग क्षेत्रका स्थानीय तथा चन्दननाथ नगरपालिकाबासीले मात्रै विद्युत सेवा उपभोग गरिरहेका छन् । तर आउँदो असोज, कार्तिक महिनाभित्रै जुम्लाका सबै स्थानीय तहमा राष्ट्रिय प्रशारण लाइन विस्तार हुन प्रमुख पाण्डेले बताए ।

यो संगै कर्णाली प्रदेशका विद्युतको राष्ट्रिय प्रशारण लाईन नपुगेका जिल्लाहरु मुगु, हुम्ला र डोल्पा मात्रै रहेका छन् । यस अघि साविक कर्णाली अञ्चलको कालिकोटमा विद्युतको राष्ट्रिय प्रशारणलाईन पुगेको थियो । प्रशारणलाईन जुम्लाबाट मुगु हुँदै हुम्ला पु¥याइने छ भने जाजरकोटबाट डोल्पाको लागि काम भइरहेको नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेशले जानकारी दिएको छ ।