२०७८, ९ आश्विन शनिबार

कर्णाली नदीमा डुंगा दुर्घटनाः ३ जना बेपत्ता

सुर्खेत । कैलालीको मोहन्याल गाउँपालिका ३ बाट सुर्खेतको चौकुने गाउँपालिका ४ जाँदै गर्दा डुंगा दुर्घटना हुँदा तिन जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा मोहन्याल गाउँपालिका–३ की २० वर्षीया पार्वती थापा, २० वर्षीया उर्मिला सलामी मगर र उनको १० दिनको छोरा रहेका छन् ।

डुंगामा १० जना सवार थिए । उनीहरु खोप लगाउन कैलालीबाट सुर्खेत जाँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा दुई जना घाइते भएका छन् । अन्य पाँच जना सकुशल छन् । घाइते हुनेमा मोहन्याल ३ की धनसरा सलामी मगर र उनकै १ महिनाको छोरा कर्ण छन् ।

प्रहरीका अनुसार १९ वर्षीया धनसराको अवस्था गम्भीर छ । कर्णको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ । घटनास्थलमा कैलालीको सुगरखाल र सुर्खेतको बाबियाचौरबाट प्रहरी टोली खोज तथा उद्धार कार्यमा खटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।