२०७८, ९ आश्विन शनिबार

५० करोडको राजस्व संकलन

सुर्खेत । गएको आर्थिक बर्ष २०७७/०७८ मा कर्णाली प्रदेश सरकारले लक्ष्य भन्दा बढि राजस्व संकलन गरेको छ । ३२ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको प्रदेश सरकारले ५० करोड राजस्व संकलन भएको जानकारी दिएको छ । आर्थिक बर्ष २०७७/०७८ को प्रगति विवरण सार्वजनिक गर्दै मुख्यमन्त्री मन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले लक्ष्य भन्दा बढि राजस्व संकलन भएको बताएको छ ।

गएको आर्थिक बर्षमा कर्णाली प्रदेश सरकारले कुल बजेटको ६५ दशमलव ५२ प्रतिशत खर्च गरेको छ । कुल ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार बजेट मध्ये २२ अर्ब १० करोड ८६ लाख ९६ हजार बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

बजेट समिक्षा कार्यक्रममा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारको कार्यसम्पादनको प्र्रभावकारिता क्रमश वृद्धि हुँदैै गएको बताए । साथै उनले चालु आर्थिक बर्षको बजेट पनि कार्यान्यनको लागि आवश्यक तयारी थाल्न सम्पूूर्ण तहलाई निर्देशन दिएका छन् ।

यस्तै प्रदेश सरकारले भौतिक पूर्वाधार निर्माण तर्फ २१ किलोमिटर सडक कालोपत्रे गरेको छ भने १ सय १३ दशमलव ६ किलोमिटर सडक ग्राभेल र सात सय ५८ दशमलव २ किलोमिटर कच्ची सडक निर्माण गरको जानकारी दिएको छ । यस्तै ११ वटा झोलुङ्गे पुल, सात वटा पक्की पुल निर्माण गरेको जानकारी दिइको छ ।

जनता आवास कार्यक्रम अन्तर्गत दलित विपन्न समूदायका लागि सात सय ६७ घर निर्माण पुरा भएका छन् भने सिँचाइ तर्फ दुई हजार एक सय ४५ हेक्टर, खानेपानी तर्फ पाँच हजार सात सय १० घरधुरीमा स्वच्छ खानेपानीको सुविधा उपलब्ध गराएको, नदि नियन्त्रण तर्फ १८ दशमलव ७७ किलोमिटर तटबन्धन निर्माण भई एक सय ८० हेक्टर जमिन थप उकास भएको मुख्यमन्त्री कार्यालयले जानकारी दिएको छ ।

यस्तै उर्जा तथा विद्युतिकरण तर्फ विद्युतिकरण विस्तार तथा सौर्य उर्जा जडान गरि कुल जम्मा ३ हजार पाँच सय ४० घरधुरी लाभावित भएको जानकारी दिएको छ । लोपउन्मुख राउटे समूदायको मूलप्रवाहीकरणको नीतिको मस्यौदा तयार भएको समेत प्रदेश सरकारले जानकारी दिएको छ ।