२०७८, २१ श्रावण बिहीबार

पर्यटकीय क्षेत्र बुलबुलेमा सरसफाई

सुर्खेत । वीरेन्द्रनगरमा अवस्थित पर्यटकीय क्षेत्र बुलबुले उद्यानमा सरसफाई गरिएको छ । कोरोना भाइरस (कोभिड—१९)को कारणले लामो समय सम्म बन्द रहेको बुलबुलेमा युवाहरुको समूहले शुक्रबार सरसफाई गरेको हो । ‘मेरो फोहोर मेरो जिम्मेबारी’ भन्ने मुल नारा सहित ‘क्लिन कर्णाली एण्ड ग्रिन कर्णाली’ अभियानमा आवद्ध युवाहरुको टोलीले बुलबुले ताल क्षेत्र, उद्यानमा रहेको फोहोर व्यवस्थापन गरेको हो ।

कोरोनाका कारण बुलबुले उद्यानको मुल गेट लामो समय सम्म बन्द रहे पछि अन्य विभिन्न क्षेत्रबाट प्रवेश गरेका मानिसहरुले जथाभावी फोहोर गरेर प्रदुषण गरेको पाइए पछि सरसफाई गरिएको अभियानका संयोजक राजेश हमाल (भट्टराई)ले बताए ।

‘फोहोर व्यवस्थापन गर्नु मात्र नभएर आफ्नो फोहोर आफै व्यवस्थापन गर्नुपर्छ भन्ने हाम्रो सन्देश हो,’ उनले भने, ‘सबैले आ–आफ्नो ठाउँबाट सरसफाईका कामहरु गरेपछि फोहोर व्यवस्थापन आफै हुन्छ । यसको लागि अब सबै सचेत हुनै पर्छ ।’ साथै उनले अभियान अन्तर्गत आगामि दिनमा देउती बज्यै मन्दिर सरसफाई गर्ने तयारी रहेको समेत बताए ।