२०७८, २१ श्रावण बिहीबार

कोरोनाबाट मृत्यु भएका परिवारलाई प्रदेश सरकारको राहत, १३२ जना मृतकका परिवारलाई प्रति परिवार एक लाख उपलब्ध

सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना भाइरस (कोभिड–१९)बाट मृत्यु भएकाका परिवारलाई राहत स्वरुप प्रतिपरिवार एक लाखका दरले रकम प्रदान गरेको छ । पहिलो चरणमा एक सय ३२ जनालाई राहत रकम वितरण गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

कर्णाली प्रदेशमा हाल सम्म कोरोना संक्रमित मध्ये ३ सय ४२ जनाको मृत्यु भइसकेको छ । मंगलबार थप एक जनाको मृत्यु भएको छ । यस अघि कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले नै कोरोनाबाट मृत्यु भएका परिवारलाई राहत स्वरुप एक लाख रकम उपलब्ध गराउने निर्णय गरेको थियो ।

जस अन्तर्गत पहिलो चरणमा सुर्खेत, दैलेख, सल्यान र कालिकोटका १ सय ३२ जनालाई राहत उपलब्ध गराएको र अन्यलाई पनि केहि दिनमा नै रकम वितरण गर्ने आन्तरिक मामिला तथा कानून मन्त्री सीताकुमारी नेपालीले जानकारी दिइन् ।

हाल सम्म ३ सय ४५ जनाका परिवारले क्षतिपुर्तीको माग सहित प्रदेश सरकारलाई निवेदन पेश गरेका छन् । पिसिआर परिक्षणबाट कोरोना पुष्टी भएको पत्र, हकवालाको नाता प्रमाणीत, मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपी, रकम दावीकर्ताको नागरिकताको प्रतिलिपिको आधारमा मन्त्रालयले राहत रकम उलब्ध गराएको छ ।

अन्य व्याक्तिहरुको पनि तथ्याङ्क संकलनको क्रममा रहेकाले छिटै सबैले राहत रकम पाउने मन्त्री नेपालीले बताइन् । कोरोना पुष्टी भएका मध्ये केहि मानिसहरु भारत तथा देशका अन्य प्रदेशमा मृत्यु भएका कर्णालीबासीलाई पनि प्रदेश सरकारले राहत उपलब्ध गराउने भन्दै मन्त्री नेपालीले अन्य क्षेत्रबाट पनि निवेदन आइरहेको बताइन् ।