२०७८, ९ आश्विन शनिबार

प्रशासकीय प्रमुख सिंहले गरे एक लाख बढिको अक्षकोष स्थापना

सुर्खेत । जाजरकोटको नलगाड नगरपालिकाका प्रशासकीय प्रमूख सुरेन्द्र सिंहले एक लाख बढिको ‘दुर्गा, सुसिला’ छात्रवृत्ति अक्षकोष स्थापना गरेका छन् । नगरपालिका–४ मा अवस्थित जनता प्राथमिक विद्यालय पिपलचौरको लागि १ लाख १ हजार १ सय ११ रुपैंयाको अक्षकोष खडा गर्ने घोषणा गरेका हुन् । आफ्नो ३४ औं जन्मदिनको अबसरमा प्रमूख सिंहले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राममाया हमाललाई अक्षकोष सञ्चालनार्थ चेक समेत हस्तान्तरण गरेका छन् ।

आफू ठूलो दुःख कष्ट गरेर यहाँ सम्म आइपुगेको भन्दै प्रमूख सिंहले अपाङ्गता भएका तर विद्यालय शिक्षाबाट बञ्चित भएका बालवालिकाको लागि अक्ष्यकोषबाट छात्रवृत्ति प्रदान गरिने उदेश्य कोष स्थापना गरेको बताए । ‘मैले शिक्षा पाएँ र यो स्थानमा छु,’ उनले भने, ‘कसैले पनि शिक्षाको उज्यालो घामबाट वञ्चित हुनु नपरोस्, मेरो यो सानो प¥यासले गरिब, विपन्न तथा फरक क्षमता भएका बालवालिकामा सहयोग होस् भन्ने मेरो इच्छा छ ।’

उनले आफ्ना बुवा दुर्गा सिंह र माता सुसिला सिंहको नामबाट ‘दुर्गा सुसिला छात्रवृत्ति’ अक्षकोष स्थापना गरेका हुन् । प्रत्येक वर्ष गरिब, विपन्न तथा फरक क्षमता भएका बालवालिकालाई छात्रवृत्ति प्रदान गरिने उनले बताए । प्रमूख प्रशासकीय सिंह नगरपालिका स्थापना काल देखि नलगाड नगरपालिकामा कार्यरत हुनुहुन्छ । उनी सिम्ता गाउँपालिका वडा नं. ६ राकम सुर्खेतका स्थायी बासिन्दा हुन ।