२०७८, २१ श्रावण बिहीबार

कोरोनाका दुई लहर, हाल सम्म कणालीमा ३२९ जनाको मृत्यु

 

सुर्खेत । कोरोना भाइरस (कोभिड–१९)का कारण कर्णाली प्रदेशमा हाल सम्म तिन सय २९ जनाको मृत्यु भएको छ । प्रदेशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टर, होम आइसोलेसन, क्वारेन्टिनमा गरेर ३ सय २९ जनाको मृत्यु भएको हो ।

पछिल्लो २४ घण्टामा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेशका विभिन्न प्रयोगशालाहरुमा उपचारको क्रममा सुर्खेत र रुकुम पश्चिमका एक÷एक जनाको मृत्यु भएको हो ।

स्वस्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशको तथ्याङ्क अनुसार हाल सम्म सुर्खेतका एक सय ९५, सल्यानका ५१, रुकुम पश्चिमका ३०, दैलेखका २२, जुम्लाका १०, डोल्पाका ५, हुम्लाका २, जाजरकोटका ३, कालिकोटका ४, मुगुका ३ र अन्य प्रदेशका ४ जना रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा आरटी पिसिआर विधिबाट गरिएको परिक्षणमा ३७ र एन्टिजेन विधिबाट ४९ जनामा संक्रमण पुष्टी भएको छ । थप ३५ जना निको भएका छन् ।

हाल सम्म कर्णाली प्रदेशका कुल कोरोना संक्रमितको संख्या २८ हजार एक सय ७७ पुगेको छ । ति मध्ये हाल सम्म २५ हजार ६ सय ९३ जना संक्रमित उपचार पछि निको भएका छन् भने एक हजार एक सय ३२ जना संक्रमित प्रदेशका विभिन्न अस्पताल तथा आइसोलेसनमा उपचाररत छन् ।

देशभर थप २८९२ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा दशैँभर सात हजार एक सय ८७ जनामा गरिएको पीसीआर परीक्षणमा १८८९ जना र ४३८१ जनामा गरिएको एन्टिजेन परीक्षणमा १००३ जना गरी कुल २८९२ जनामा संक्रमण पुष्टि भएको हो । यो संख्या मंगलबार संक्रमण पुष्टि भएको २६३६ भन्दा २५६ जनाले बढी हो । त्यस्तै सोमबार २,४४४ जना संक्रमित भेटिएकामा आइतबार १,९२० जनामा मात्र भेटिएका थिए । आइतबारको तुलनामा बुधबार संक्रमितको संख्या झण्डै एक हजार जना बढेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले नेपालमा संक्रमणदर २६ प्रतिशत पुगेको छ । प्रवक्ता कृष्णप्रसाद पौडेलले जोखिम अझै नहटेको भन्दै जनस्वास्थ्यको मापदण्ड पालना गर्न आग्रह गरेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५७२ जना संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौं जिल्लामा ४३६, ललितपुरमा १८९ र भक्तपुरमा ४७ जना छन् ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३५९७ रहेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ५६१ रहेको छ । जसमध्ये ३० हजार ५४४ जना होम आइसोलेसनमा र ३०१७ जना संस्थागत आइसोलेसनमा छन् । हालसम्म कोरोना संक्रमणका कारण ९११२ जनाको मृत्यु भएको छ । हालसम्म १७ जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी छ ।