२०८१, ८ बैशाख शनिबार

यो बर्ष पनि एसईई आन्तरिक मूल्यांकनबाट

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)का कारण यस वर्षको एसईई पनि विद्यालयको आन्तरिक मूल्यांकनकै आधारमा हुने भएको छ । मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमणको कारण राष्ट्रव्यापी रूपमा एसईई परीक्षा सञ्चालन गर्न नसकिने भन्दै आन्तरिक मूल्यांकनबाटै गर्ने निर्णय लिएको हो । मन्त्रिपरिषद्को बैठकले एसईई आन्तरिक मूल्यांकनबाटै गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङ्फेले जानकारी दिइन् । ’एसईई आन्तरिक मूल्यांकनबाट परीक्षा लिने निर्णय भएको छ,’ उनले भनिन् ।

त्यस्तै, नयाँ शैक्षिक सत्र असार महिनाबाट सुरु गर्ने पनि मन्त्रिपरिषद्ले निर्णय लिएको छ । ‘आगामी शैक्षिक सत्र असार महिनाबाट सञ्चालन गर्ने पनि निर्णय भएको छ,’ मन्त्रिपरिषद्ले गरेको निर्णयबारे जानकारी दिँदै उनले भनिन् । असार महिना अघि नै एसईईको आन्तरिक मूल्यांकन सक्ने तयारी रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जानकारी दिएको छ ।

गत वर्ष पनि कोरोना महामारीका कारण आन्तरिक मूल्यांकनकै आधारमा एसईईको नतिजा तयार पारिएको थियो । यसका लागि राष्ट्रिय परीक्षा बोर्डले छुट्टै कार्यविधि तयार पारेको थियो । यस पाली पनि सोही कार्यविधिका आधारमा विद्यार्थीको मूल्यांकन गर्न लागिएको हो । तर बोर्डले कार्यविधिमा संशोधन हुन सक्ने जनाएको छ । विज्ञहरूले गत वर्षको कमीकमजोरी कार्यविधिमा संशोधन गर्नुपर्ने औंल्याएका थिए ।

यसअघि जेठ १३ गतेबाट हुने भनिएको एसईई राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीका कारण स्थगित गरेको थियो । बोर्डका अनुसार ५ लाख १७ हजार विद्यार्थी एसईईको तयारी छन् । अवस्था नियन्त्रणबाहिर रहेकाले देशभरका २ हजार १९ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुन नसक्ने बोर्डले निकालेको थियो ।

यस्तै बोर्डले जेठ २६ गतेबाट हुने भनिएको कक्षा १२ को परीक्षा पनि स्थगित गरेको थियो । कक्षा १२ को परीक्षा कसरी गर्ने भन्ने निर्णय भने सरकारले लिइसकेको छैन । कक्षा १२ को परीक्षा कसरी गर्ने भन्नेबारे मन्त्रालयले आन्तरिक छलफल थालेको तर निर्णयमा पुगिनसकेको शिक्षा मन्त्रालयका अधिकारीले बताएका छन् ।