२०८०, १८ आश्विन बिहीबार

सुर्खेतमा जेठ २५ गते सम्म निषेधाज्ञा थप: निषेधाज्ञालाई खुकुलो बनाउँदै जाने तयारी

सुर्खेत। जिल्ला प्रशासन कार्यालय सुर्खेतले जिल्लाभर जेठ २५ गते सम्म निषेधाज्ञा थप गरेको छ । शुक्रबार बसेको कोरोना संकट व्यवस्थापन केन्द्रको सिफारिसमा प्रशासनले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । कोरोनाको दोस्रो लहर देखिए संगै सुर्खेतमा बैशाख १४ गते रातीबाट निषेधाज्ञा जारी गरिएको थियो । जुन आज रातीबाट एक महिना पुग्दैछ ।

पछिल्लो तथ्याङ्क अनुसार सुर्खेतमा संक्रमितको संख्या घट्दै गएको पाइन्छ । संक्रमितको संख्या घट्दै गए पनि तत्काल निषेधाज्ञा खोल्न नहुँने प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए । ‘संक्रमण दरमा केहि कमि आए पछि अहिले नै निषेधाज्ञा खुलाउन सक्ने अवस्था छैन,’ उनले भने, ‘निषेधाज्ञा खुलाउँदा धेरै कुराको ख्याल गर्नुपर्छ । यसरी नै संक्रमितहरुको संख्या घट्नै जानु, निको हुनेको संख्या बढ्दै गएको अवस्थामा निषेधाज्ञा बिस्तारै खुकुलो पार्दै खोल्छौँ ।’ हाल सुर्खेतमा झण्डै तीन हजार सक्रिय संक्रमित छन् । संक्रमणको दर बढे संगै कर्णालीका १० वटै जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

एकै दिन ५६१ जना निको भए

कर्णाली प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या भन्दा निको हुनेको संख्या बढ्दै गएको छ । स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले शुक्रबार जारी गरेको रिर्पोटमा आरटी पिसिआर विधिबाट गरिएको परिक्षणमा एक सय दुई जना र एन्टिजेनबाट एक सय ७३ जनामा नयाँ संक्रमण पुष्टी भएको छ । यो संगै कर्णालीमा हाल सम्म कुल संक्रमण पुष्टी हुनेको संख्या २२ हजार चार सय ७७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप पाँच सय ६१ जना संक्रमित उपचार पछि निको भएका छन् । यो संगै कर्णालीमा कुल संक्रमित मध्ये १५ हजार एक सय ७० जना निको भएका छन् । हाल प्रदेशका अस्पताल तथा आइसोलेसनमा पाँच हजार नौ सय पाँच जना उपचाररत छन् । यस्तै उपचारको क्रममा सुर्खेतका थप एक जनाको मृत्यु भएको छ । यो संगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई सय २७ पुगेको छ ।