२०७८, ३१ जेष्ठ सोमबार

अक्सिजन प्लान्ट स्थापना गर्न थप २ करोड बजेट उपलब्ध

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशका विभिन्न क्षेत्रहरुमा अक्सिजन प्लान्ट स्थापना गर्नको लागि थप दुई करोड बजेट उपलब्ध गराउने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को जेठ १० गतेको बैठकले स्वास्थ्य सेवा निर्देशनालय सुर्खेत र स्वास्थ्य सेवा कार्यालय कालिकोटमा प¥याप्त क्षमताको रिफिलिङ सिस्टम सहितको अक्सिजन प्लान्ट स्थापना गर्नको लागि दुई करोड बजेट उपलब्ध गराउने निर्णय गरेको हो । जसमा निर्देशनालयलाई एक करोड २० लाख र स्वास्थ्य सेवा कार्यालय कालिकोटलाई ८० लाख रुपैयाँ थप बजेट उपलब्ध गराउने निर्णय गरेको छ ।

विकट जिल्लामा खाद्यन्न ढुवानी गर्न साढे २ करोड अनुदान

यस्तै प्रदेश सरकारले प्रदेशका विकट जिल्लाहरुमा खाद्यन्न ढुवानी गर्नको लागि खाद्य संस्थानलाई साढे दुई करोड पैसा अनुदान दिने निर्णय गरेको छ । बैठकले खाद्य प्रविधि तथा व्यापार कम्पनी लिमिटेड, प्रादेशिक कार्यालय सुर्खेतलाई दुई करोड ४७ लाख ९८ हजार ८ सय ३३ रुपैयाँ अनुदान दिन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत दिने गरी स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।

प्रदेशका विषेश गरी हुम्ला, डोल्पा, मुगु, जुम्ला, कालिकोट लगायतका जिल्लाहरुमा बर्षेनी करडौँ मुल्यको खाद्यन्न ढुवानी हुने गरेको छ । हिमाली जिल्लाहरुमा प¥याप्त खाद्यन्न उत्पादन नहुँदा नेपाल सरकारले अनुदान मार्फत बर्षेनी हजारौँ क्वीन्टल चामल पढाउने गरेको छ । विकट जिल्लाहरुमा सबै क्षेत्रमा यातायातको पहुँच नहुँदा धेरैजासो खाद्यन्न हवाई यातायात, कच्चर, घोडा मार्फत ढुवानी गर्ने गरिएको छ । यसरी ढुवानी गर्दा मात्रै राज्यको करडौँ बजेट सकिने गरेको छ ।

मन्त्रिपरिषदले खाद्यन्न खरिदको लागि कालिकोट र डोल्पाका स्थानीय तहहरुलाई रकम हस्तान्तरण गर्न उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने, स्थानीय तहहरुले सम्बन्धित जिल्ला अध्यक्ष कामदारको जिल्ला दररेट अनुसार काम गरेको कार्यदिनको आधारमा उपलब्ध गराउने, खाद्यन्नको मापदण्ड बनाई वितरण गर्ने निर्णय गरेको छ ।

यस्तै प्रदेश सरकारले प्रदेश र स्थानीय तहका स्वास्थ्य संस्थाहरुमा छात्रवृति करारमा कार्यरत विशेषज्ञ चिकित्सक र मेडिकल अधिकृतहरुको करार म्याद समाप्त भएको मितिले आगामी असार मसान्त सम्म म्याद थप गर्ने, रिक्त दरबन्दीमा असार मसान्तसम्म थप गर्ने निर्णय गरेको छ ।

सरकारको प्रवक्तामा मन्त्री नेपाली

कर्णाली प्रदेश सरकारले प्रवक्तामा मन्त्री सीता नेपालीलाई जिम्मेवारी दिएएको छ । आर्थिक मामिला, कानून, युवा तथा खेलकुद मन्त्रालयका मन्त्री समेत रहेकी नेपालीलाई प्रदेश सरकारले प्रवक्ताको जिम्मेवारी दिइएको हो । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले यस अघि प्रवक्ताको जिम्मेवारी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई दिएको थियो ।

सम्बन्धित समाचार