२०८१, ७ बैशाख शुक्रबार

सुर्खेतमा पिसिआर किट अभाव, किट खरिद गरी हस्तान्तरण गर्न स्थानीय तहलाई अनुरोध

सुर्खेत । सुर्खेत जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)ले अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा आवश्यक पर्ने पिसिआर किट तथा एक्स्ट्राक्सन किट खरिद गरी अस्पतालाई हस्तान्तरण गर्न स्थानीय तहलाई आग्रह गरेको छ । प्रदेश अस्पताल अन्तर्गत पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा परिक्षण गर्नुपर्ने नमुना अत्याधिक भएका कारण नतिजा आउन ढिलाई भएको, परिक्षणको लागि किट समेत अभाव देखिएकाले छिटो नतिजा प्राप्त गर्ने वातावरण मिलाउन किट खरिद गरी हस्तान्तरण गर्नुपर्ने बताएको छ । प्रशासनले किट खरिद गरी अस्पतालको पिसिआर प्रयोगशालामा हस्तान्तरण गर्न अनुरोध गरेको छ त्यसमा प्रदेश अस्पतालले सहजिकरण गर्ने बताइएको छ ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा बसेको बैठकले प्रत्येक स्थानीय तहको वडास्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिलाई थप क्रियाशील तुल्याई काम गर्नका लागि अनुरोध गर्ने, प्रहरी संगको समन्वयमा टोलटोलमा चेतनामुलक कार्यक्रम सञ्चालन गर्ने, नियम उल्लंघन गर्ने वा स्वास्थ्य सम्बन्धी मापदण्डको पालना नगर्नेलाई कारवाही गर्ने, प्रत्येक टोलटोलमा निगरानी समूह गठन गरी घरका कुनै पनि सदस्य अत्यावश्यक काम नपरी बाहिर निस्किन नदिने, वडा अध्यक्षको संयोजकत्वमा स्वास्थ्यकर्मी सहित संयुक्त अनुगमन समिति निर्माण गर्ने जस्ता निर्णयहरु गरेको छ ।

कोरोना परिक्षण र उपचारका लागि अत्यावश्यक पर्ने औषधी लगायतका स्वास्थ्य उपकरणहरु बर्षात् अगावै खरिद गरी मौज्दात राख्ने, हाल सबै तिर अक्सिजनको अभाव भएको हुँदा तत्कालको अप्ठ्यारो टारी जीवन रक्षा गर्नका लागि केहि थान मात्र भए पनि अक्सिजन कन्सन्टे«टर मेशिनको व्यवस्था गर्नु उपयुक्त हुने हुँदा र मेशिनहरु बिजुलीबाट चल्ने भएकाले भरपर्दाे ब्याकअपको पनि व्यवस्था गर्न स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको छ ।