२०८१, ७ बैशाख शुक्रबार

पर्याप्त उत्पादन नहुँदा अक्सिजनको चरम अभाव

सुर्खेत । कोरोना भाइरस (कोभिड–१९)को दोस्रो लहर देखिए संगै कर्णालीमा अक्सिजनको चरम अभाव सुरु भएको थियो । झण्डै एक महिना पहिलाबाट अक्सिजनको चरम अभाव भोगिरहेको कर्णाली प्रदेशमा अक्सिजनको राम्रो व्यवस्थापन गर्न सकिएको छैन । सबै क्षेत्रमा प¥याप्त अक्सिजन अभावका कारण कोरोना संक्रमित बिरामीहरुले अकालमै ज्यान गुमाउन बाध्य छन् । हाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रदेश अस्पताल सुर्खेतमा मात्रै अक्सिजनको उत्पादन हुने गरेको छ । त्यो पनि प¥याप्त मात्रामा छैन । अक्सिजनको लागि कर्णाली प्रदेश अहिले पनि बाँकेको नेपालगञ्जकै भरमा छन् । अत्याधिक संक्रमण फैलिएको नेपालगञ्जमै अक्सिजन अपुग भए पछि कर्णालीमा एकदमै न्यून मात्रामा आइरहेको छ ।

अक्सिजन अभावकै कारण कर्णाली प्रदेशको सबै भन्दा ठूलो कोभिड अस्पताल सुर्खेतले नयाँ संक्रमित भर्ना नगर्ने अवस्थामा पुगेको छ । प्रदेश अस्पतालका निर्देशक डा. डम्वर खड्काले बुधबारबाट दैनिक ५० वटा सिलिन्डर अक्सिजन मात्रै नेपालगन्जबाट आइरहेको बताए । ‘प्रदेश अस्पतालमा दैनिक तीनदेखि चारसय सिलिन्डर आवश्यक पर्छ,’ अस्पताल निर्देशक डा. खड्काले भने, ‘बुधबारदेखि सप्लाई न्यून भएकाले नयाँ संक्रमित भर्ना गर्न समस्या भइरहेको छ ।’

बुधबार अघिसम्म सुर्खेतमा दैनिक १३० देखि १५० सम्म अक्सिजन सिलिन्डरहरु आउँथ्यो । बाँकेमा दुईवटा अक्सिजन प्लान्ट छन् । स्थानीयको अवरोधका कारण बाहिरबाट अक्सिजन भर्न जानेहरु समस्यामा पर्ने गरेका छन् । जनशक्ति र बेड भए पनि अक्सिजन अभावकै कारण नयाँ बिरामी भर्ना लिन नसक्ने अवस्थामा अस्पताल पुगेको डा. खड्काले बताए । कर्णाली प्रदेश अस्पतालमा अहिले ९८ जना संक्रमितहरुको उपचार भइरहेको छ । अक्सिजनको मात्रा पर्याप्त भएमा दुई सयसम्म कोरोना संक्रमितहरुलाई उपचार गर्न सकिने अस्पतालले जनाएको छ ।

हाल प्रदेश अस्पतालमा दुई वटा अक्सिजन प्लान्ट रहेका छन् । त्यसले न्यून मात्रामा अक्सिजन सिडिण्डर भर्छ भने पाईपलाईनबाट ६० देखि ७० जना सम्मलाई मात्रै २४ घण्टा अक्सिजन पुग्ने गरेको छ ।

यता सुर्खेतका प्रमुख जिल्ला अधिकारी छवीलाल रिजालले अक्सिजन आपूर्तिलाई सहज बनाउन छलफल भइरहेको बताए । ‘बिरामीका आफन्तहरु आफै सिलिण्डर बोकेर बाँकेका अक्सिजन प्लान्टमा पुगेर अवरोध गर्ने गरेको पाइएको छ,’ उनले भने, ‘अक्सिजनको सहज आपूर्तिका लागि छलफल भइरहेको छ ।’

जुम्ला र सुर्खेत बाहेकका अन्य जिल्लाहरुले पनि अक्सिजनको चरम अभाव भइरहेको छ । अन्य जिल्लाहरुले अक्सिजन प्लान्ट सञ्चालन गर्ने तयारी गरेपनि कुनै जिल्लामा मेसिननै पुग्न सकेको छैन भने कुनै जिल्लामा प्राविधिक कर्मचारी अभावका कारण जडान समेत भएको छैन ।

जिल्लामा मेसिन पुगे पनि प्लान्ट जडानका लागि प्राविधिक कर्मचारी छैनन् । ‘कर्णालीमा बायो इन्जिनियर अभाव छ, अहिले दुई–तीन जनाले काम चलाउनु परेको छ,’ कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्काले भने, ‘प्राविधिक नभएर सबै जिल्लामा प्लान्ट सञ्चालनमा समस्या भएको हो ।’ जेठसम्म सबै जिल्लामा प्लान्ट सञ्चालनमा आउने उनको भनाइ छ । ‘प्लान्ट जडानको प्रक्रिया सुरु भइसकेको छ,’ उनले भने, ‘जेठभित्र सबै जिल्लामा अक्सिजन उत्पादन हुन्छ ।’