२०८०, १४ चैत्र बुधबार

रुसले नेपाललाई कोरोनाविरुद्धको खोप बेच्ने

काठमाडौँ । रुसले नेपालमा कोरोनाविरुद्धको खोप बेच्ने भएको छ । आगामी डिसेम्बरसम्ममा नेपाललाई ८० लाख डोज खोप किन्न दिने प्रतिबद्धता जनाएको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र मस्कोबाट आएको उच्चस्तरीय टोलीबीच बुधबार भएको छलफलमा खोप बिक्रीको प्रतिबद्धता आएको हो । दुई पक्षबीच मूल्यको विषयमा भने सहमति भइसकेको छैन ।

रुसबाट सरकार–सरकार (जीटूजी) प्रक्रियाबाट त्यहाँ उत्पादित खोप ‘स्पुतनिक–भी’ ल्याउने निर्णय गरेर सरकारले छलफल अघि बढाएको थियो । छलफलका क्रममा मन्त्री त्रिपाठीले ४० लाख डोज खोप तत्काल आवश्यक पर्ने जानकारी गराएका थिए ।
रुससँग सहुलियतमा खोप उपलब्ध गराउन र अनुदानमा समेत दिन आग्रह गरिएको छ । ‘रुसी खोप ल्याउने करिब–करिब तय भइसकेको छ । दुई–चार दिनमा यो विषयमा टुंगो लाग्छ,’ मन्त्री त्रिपाठीले भने । उनले अनुदानका लागि चिठी लेखिसकेको बताए ।

नेपालस्थित रुसी दूतावासका एक प्रतिनिधिले नेपालको चाहनाअनुसार रुसले पर्याप्त खोप निर्यात गर्न सक्ने बताए ।