२०७८, ५ असार शनिबार

राजधानी फोकस सडक पिच गर्दै प्रदेश सरकार, चालु आर्थिक बर्षमा ३९ किलोमिटर सडक पिच गर्ने

सुर्खेत । कर्णाली प्रदेश सरकारले राजधानी वीरेन्द्रनगर फोकस गरेर कालोपत्रे (पिच) को कामलाई तिव्रता दिएको छ । वीरेन्द्रनगरस्थित सरकारी प्लानिङ क्षेत्र तथा अन्य विभिन्न क्षेत्रका सडक पिचको काम अघि बढिरहेको छ । चालु आर्थिक बर्षमा २९ किलोमिटर सडक वीरेन्द्रनगर उपत्यका भित्र र १० किलोमिटर जिल्लाका अन्य विभिन्न क्षेत्रमा पिच गर्ने बताइएको छ ।

सुर्खेत जिल्लामा रहेका साना तथा ठूला सडक यो बर्ष पिच हुने पूर्वाधार विकास कार्यालय सुर्खेतले जानकारी दिएको छ । गत आर्थिक वर्षमा कोरोना भाइरस (कोभिड–१९)का कारण कालोपत्रे हुन नसकेका अधिकांश सडक चालू आर्थिक वर्षमा कालोपत्रे भइरहेका छन् । उपत्यकामा २५ वटा सहरी सडक र अन्य सडकहरु पिचको काम हुने बताइएको छ ।

निर्देशनालयका अधिकृत हरी शर्मा धितालले चालु आर्थिक बर्षमा ११ किलोमिटर सडक पिच भइसकेको र अन्य सडक पिच हुने क्रममा रहेको बताए । ‘चालु आर्थिक बर्षको असार यता ११ किलोमिटर सडक पिचको भएको छ,’ उनले भने, ‘सात किलोमिटर हिउँद अघि नै पिच भएको हो भने हाल सालै ३ किलोमिटर पिचको काम सकिएको छ । बाँकी सडक पनि पिचको काम तिव्र गतिमा भइरहेको छ । यो बर्ष हामी लक्ष्य अनुसार सत्र प्रतिशत काम गर्ने छौँ ।’ पूर्वाधार विकास निर्देशनालयमा चालु आर्थिक बर्षमा १ अर्ब ६३ करोड बजेट विनियोजन भएको छ । जस मार्फत सडक पिच, मर्मत सुधार, पुल निर्माण जस्ता कामहरु हुने उनको भनाई छ ।

चालु आर्थिक बर्षका योजना टेण्डर प्रक्रिया मै

गत आर्थिक बर्षका योजनाहरु धमाधम पिचको काम भइरहेको छ भने चालु आर्थिक बर्षका अधिकांश योजनाहरु टेण्डर प्रक्रियामै अल्झिएका छन् । सरकारी मापदण्ड अनुसार आर्थिक बर्षको ६ महिना सम्म टेण्डर प्रक्रिया, सम्झौता लगायतका सम्पूर्ण कामहरु सक्ने र पछिल्लो ६ महिना यताबाट पिचको काम सुरु गर्नुपर्ने हो । तर त्यो हुने सकेको छैन । अधिकृत धितालले चालु आर्थिक बर्षका ठूला सडकहरु टण्डर प्रक्रियामा रहेको र अर्को बर्षमा मात्रै पिच हुने बताए । उनले केहि स–साना सडक भने पिच हुने बताए ।