२०७८, २१ श्रावण बिहीबार

नेपालमा वायु प्रदूषण बढ्दै, चार दिन देशभरका शैक्षिक संस्था बन्द

काठमाडौँमा देखिएको वायु प्रदूषण ।

सुर्खेत । नेपालमा वायु प्रदूषणको प्रभाव बढ्दै गए पछि सरकारले चार दिन देशभरका शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको छ । आज (मंगलबार) देखि लागू हुनेगरी चार दिनका लागि सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो । बैठकमा बोल्दै मन्त्री श्रेष्ठले वायुमण्डलमा देखिएको मौसम प्रतिकूलताका कारण शिक्षण संस्था बन्द गर्नुपरेको जानकारी दिए । बैठकमा शिक्षा सचिव रामप्रसाद थपलिया, विज्ञान सचिव डा. सञ्जय शर्मा, मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्मा, सहसचिव डा.हरी लम्साल, शिक्षा, तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्याल लगायतको उपस्थिति रहेको थियो ।

बैठकअघि मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग यस विषयमा परामर्श गरेका थिए । अब शिक्षण संस्थाहरु आइतबार मात्रै खुल्नेछन् । केही दिनदेखि काठमाडौं उपत्यकासहित देशैभरका धुवाँ र धुलो मिसिएर वायु प्रदूषण बढेको छ ।

वीरेन्द्रनगर पनि काठमाडौँको बाटोमा छ –डा. केसी

प्रदेश अस्पताल सुर्खेतमा कार्यरत डा. नवराज केसीले वीरेन्द्रनगर उपत्यका पनि काठमाडौँ जस्तै प्रदूषण हुने अवस्थामा रहेको बताएका छन् । पछिल्लो समय उपत्यकामा भइरहेका गतिविधिले वातावरणमा असर गर्दै गएको उनको भनाई छ । सामान्यतया वीरेन्द्रनगरको एयर क्वालिटी इन्डेक्स २० देखि २५ को अवस्थामा पुगिसकेको भन्दै उनले आजैबाट सचेतना नअपनाए प्रदूषण झनै बढ्दै जाने बताए ।

‘काठमाडौँको एयर क्वालिटी इन्डेक्स २ सय भन्दा माथि छ,’ उनले भने, ‘सामान्यता २० देखि २५ माथि कट्नु भनेको खतराको संकेत हो । वीरेन्द्रनगरमा प्रतिबर्ष करिव एक हजार घर बन्छन् । सडकमा अत्याधिक मात्रामा धुलो, सवारीको चाप छ । भ्यालीको प्रदूषण भ्यालीमै जम्मा हुने भएकाले पनि प्रदूषण बढ्दै गएको हो ।’

चार दिनको विद्यालय बन्दले केहि राहत भए पनि वारणवरण प्रदुषण नियन्त्रण गर्ने छोटा र लामो योजनाहरु तत्काल बनाउनुपर्ने उनको भनाई छ । अस्तव्यस्त रुपमा भइरहेको विकास निर्माणले वातावरण प्रदुषण एकदमै बढाएको भन्दै उनले व्यवस्थित गर्नु जरुरी भएको बताए ।