२०८१, २ बैशाख आईतवार

मप विश्वविद्यालयमा प्रवेश परीक्षाको विवाद् बढ्दै

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा प्रवेश परीक्षालाई लिएर विवाद् बढ्दै गएको छ । विश्वविद्यालयको ‘स्कूल अफ ल’ अन्र्तगत स्नातक तह (विए.एलएल.वी) को नयाँ भर्नाका लागि भएको प्रवेश परीक्षाको विवाद बढ्दै गएको छ । फागुन १७, १८ र १९ गते भएको परीक्षामा लिखित र मौखिक परीक्षा हुनुपूर्व नै प्रश्नपत्र बाहिरीएको भन्दै अनुर्तिण भएका विद्यार्थीले पुनः परीक्षा गराउन माग गरेका थिए । आफुहरुलाई पक्षपात गरिएको भन्दै उनीहरुले छानविनको माग गर्दै दिएको पत्रका आधारमा विश्वविद्यालयले २५ फागुनमा छानविन समिति गठन गरेको थियो । परीक्षा नियन्त्रण कार्यालयका प्रमुख डा. आनन्दप्रसाद सुवेदीको संयोजनत्वमा उपप्रध्यापक नरेन्द्र साउद र अधिवक्ता दुर्गा सापकोटा सदस्य थिए ।

छानविन समितिको प्रतिवेदनको आधारमा बुधबार क्याम्पस प्रशासनले परीक्षा रद्द गरेर नयाँ मितिमा हुने गरी सुचना जारी गरेको छ । क्याम्पस प्रशासनले विनाकारण प्रवेश परीक्षा रद्द गरेको भन्दै उर्तिण विद्यार्थीहरुले उपकुलपतिको कार्यालयमा धर्नामा बसेका छन् ।

छानविन समितिको प्रतिवेदन आफुहरुलाई नदेखाएर एउटा सानो सुचनाको भरमा परीक्षा जस्तो चिज रद्द गर्न नमिल्ने उनीहरुको भनाई छ । आन्दोलनरत विद्यार्थीलाई विश्वविद्यालय नेपाल विद्यार्थी संघ र स्वतन्त्र विद्यार्थी युनियनले एक्यवद्धता जनाएको छ ।

छानविन समितिको प्रतिवेदन सार्वजनिक नगरेर सानो सुचनाको भरमा आफ्ना स्वार्थहरु पुरा गर्न परीक्षा रद्द गरिएको नेपाल विद्यार्थी संघका नेता राजन केसीले बताए । ‘छानविन समितिले ७२ पुष्ट लामो प्रतिवेदन बुझाएको सुनेका छौँ । तर त्यो हामीलाई उपकुलपति कार्यालयले उपलब्ध गराएको छैन । किन परीक्षा रद्द गरियो भन्दा विश्वविद्यालय प्रशासन मौन छ ।’ यसै बिच विद्यार्थीले बुधबार ल क्याम्पसमा तालाबन्दी गरेका थिए । तर म्याम्पस प्रशासनले ताला फुटाएको थियो ।

‘स्कूल अफ ल’ को प्रवेश परीक्षाको नतिजा आए देखि नै असन्तुष्ट रहेका अनुर्तिण विद्यार्थीहरुले तत्काल पुनः परीक्षा गराउन माग गरेका छन् । फागुन २१ गते परीक्षाको नतिजा आए यता देखि नै पुनः परीक्षा गराउन माग गर्दै आएका विद्यार्थीले परीक्षा रद्द गरेर पुनः गराउने निर्णयलाई स्वागत गरेको छ । बिहीबार ज्ञापन पत्र बुझाउँदै संघर्ष समितिका संयोजक कलम थापाले खारेज गरिएको प्रवेश परीक्षा छिटो भन्दा छिटो नयाँ मिति तोकेर संचालन गर्न माग गरेका छन् ।

अख्तियारले मार्यो छापा

मध्यपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालयमा अख्तियारले छापा मारेको छ । विश्वविद्यालयका पदाधिकारीहरुले आफन्तलाई करारमा जागिर दिएको उजुरी परेपछि अख्तियार छापा मारेको हो । बिहीबार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले छापा मारेको आयोग सुर्खेतका सुचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए । छानविनका लागि अख्तियारले कागजात नियन्त्रणमा लिएको जनाएको छ । प्रमाणहरु नष्ट हुनसक्ने भएपछि अख्तियार तत्काल फिल्डमै गएका सुचना अधिकारी सापकोटाको भनाई छ ।