२०७८, ९ आश्विन शनिबार

वीरेन्द्रनगरमा सर्वाधिक राशीको भलिबल प्रतियोगिता सुरु

सुर्खेत । प्रथम चुली कप प्रदेश स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता वीरेन्द्रनगरमा सुरु भएको छ । कर्णाली प्रदेशमा पहिलो पटक भएको सर्वाधिक राशिको भलिबल प्रतियोगितामा कर्णालीका ८ वटा टीमले सहभागिता जनाएका छन् । प्रतियोगितामा हाम्रो कम्प्यूटर इन्सिचिउट वीरेन्द्रनगर, जिल्ला भलिवल संघ रुकुम पश्चिम, बादेपिपल युवा क्लव सिम्ता, एपिएप, जिल्ला खेलकुद विकास समिति दैलेख, उत्तर पश्चिम पृतना (नेपाल आर्मी), बनगाड कुपिण्डे युवा क्लव र आयोजक चुली युवा क्लवले भाग लिएका छन् ।

भलिबलको इतिहासमा पहिलो पटक कर्णालीमा ठूलो धनराशीको प्रतियोगिता आयोजना गरिएको आयोजक चुली युवा क्लवका अध्यक्ष महेश जिसीले बताए । उद्घाटनको दिने बुधबार एउटा खेल भएको छ । उत्तर पश्चिम पृताना (नेपाल आर्मी) र बनगाड कुपिण्डे युवा क्लव सल्यान बिच भएको खेलमा आर्मीले ३—१ को सेटमा जीत हात पारेको हो ।

चैत्र १४ गते सम्म चल्ने प्रतियोगितामा बिहीबार (आज) ४ खेल हुँदैछन् । प्रतियोगीतामा प्रथम हुनेलाई २ लाख नगद पुरस्कार, द्धितीयलाई १ लाख ५० हजार, तृतीयलाई १ लाख र सान्त्वना हुनेलाई ५० हजार नगद पुरस्कार रहेको अध्यक्ष जिसीले जानकारी दिए ।

प्रतियोगितमा उत्कृष्ट विधाहरुमा वेष्ट प्लेयरलाई १५ हजार, वेष्ट स्पाइकरलाई ७ हजार, वेष्ट सेटरलाई, वेष्ट ब्लकर,वेष्ट डिफेन्डर, वेष्ट सर्भर र बेष्ट कोचरलाई ७ हजार ५ सय नगद पुरस्कार दिइन् छ । टिम दर्ता शुल्क १० हजार रहेको छ भने खेल नकआउट र लिग नकआउटको आधारमा खेलाईने आयोजकले बताएको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले खेलकुदको विकासको लागि पूर्वाधार निर्माणलाई प्रमुख प्रथामिकतामा राखेको बताए । प्रदेश सरकार प्रत्येक स्थानीय तहमा खेलमैदान निर्माण गर्ने अवधारणा अघि बढाएको भन्दै उनले त्यसलाई सबै क्षेत्र मिलेर काम अघि बढाउनुपर्नेमा जोड दिए । खेलकुदका गतिविधिलाई निरन्तरता दिँउ, भलिबलको क्षेत्रमा राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष जिसीको भनाई छ ।