२०८१, ८ बैशाख शनिबार

पचालझरना गाउँपालिकाले विद्यार्थीलाई लोकसेवा पढाउँदै

सुर्खेत । कालिकोटको पचालझरना गाउँपालिकाले विद्यार्थीहरुलाई लोकसेवा पढाउने भएको छ । गाउँपलिकाका १ देखि ९ नम्बर वडाका सबै विद्यार्थीलाई छनोट गरेर आयोगको तयारी कक्षा पढाउन लागेको हो । ‘सुनौलो भविष्य बोकेका युवायुवतीसंग अध्यक्ष कार्यक्रम’ मार्फत विद्यार्थीलाई नायव सुब्बा र खरिदारको तयारी गराउन लगाएको गाउँपालिकाले जानकारी दिएको छ ।

शनिबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दे गाउँपालिकाले चालु आर्थिक बर्षमा ३५ देखि ४० जना विद्यार्थीलाई अध्ययन गराउन लागेको बताएको हो । गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवालले आउने लोकसेवाको परीक्षालाई लक्षित गरी ३ महिना सम्म गाउँपालिकाले पढ्ने व्यवस्था मिलाएको बताए । विद्यार्थीलाई अध्ययन गराउनको लागि गाउँपालिकाले चालु आर्थिक बर्षमा ५ लाख रकम छुट्याएको छ । जसमा अध्ययन खर्च गाउँपालिकाको रहने छ भने अन्य व्यवस्थापकिय खर्च विद्यार्थीले आफै गर्नुपर्ने बताइएको छ ।

पचालझरना गाउँपालिकाका स्थानीयले वीरेन्द्रनगरमा सञ्चालन गरिए पचालझरना एजुकेशनल एकेडेमी प्रा.लि वीरेन्द्रनगर–३ मार्फत अध्ययन गराउने समेत बताइएको छ । ‘हामीले सबै वडालाई प्रथामिकतामा राखेर विद्यार्थीहरु छनोट गरेर अध्ययन गराउने छौँ,’ अध्यक्ष सेजुवालले भने, ‘वडाले सिफारिस गरेका विद्यार्थीलाई पढाउने छौँ । निजामति कर्मचारीको अभाव रहेको हाम्रो गाउँपालिकामा कार्यक्रमले धेरै राहत प्रदान गर्ने विश्वास लिएको छु ।’

गाउँपालिका स्थापनाकाल देखिनै शिक्षा क्षेत्रलाई प्रथामिकतामा राखेको भन्दै अध्यक्ष सेजुवालले गाउँपालिकाको प्रत्येक वडामा मावि तह अध्ययन सुरु गराउने, पढाईमा गुणस्तरता ल्याउनको लागि विद्यालय परीक्षा नीतिमा कडाई गर्ने समेत बताए ।

कमजोर विद्यार्थीलाई गाउँपालिकाले नै टिउसन पढाउने भन्दै सेजुवालले आगामि दिनमा प्राविधिक शिक्षा अध्ययन समेत गराउने बताए । ‘गाउँपालिका भित्र लोकसेवा पास गरेर मानिस नुहँदा गाउँपालिकाले लामो समय सम्म कर्मचारी बिहिन हुनुपर्ने अवस्था आयो,’ उनले भने, ‘अब हामी युवाहरुलाई उत्साहका साथ लोकसेवा अध्ययन गराएर गाउँमा नै प¥याप्त मात्रामा निजामती कर्मचारीमको उत्पादन गर्न चाहान्छाँै ।’