२०७८, २१ श्रावण बिहीबार

पूर्व सूचना प्रणाली सम्बन्धि रणनैतिक कार्ययोजनाबारे छलफल

सुर्खैत । कर्णाली प्रदेशको पूर्व सूचना प्रणाली सम्बन्धि रणनैतिक कार्ययोजनाबारे छलफल गरिएको छ । पूर्व सूचना प्रणाली सम्बन्धि रणनैतिक योजना कसरी बनाउने र कस्तो बनाउने भन्ने विषयमा विभिन्न सरोकारवाला निकायहरु नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, विपद् ब्यवस्थापनका क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाका प्रतिनिधिहरु विभिन्न सामाजिक संघसंस्था बिच छलफल गरिएको हो ।

प्राक्टिकल एक्सनकोे आर्थिक तथा प्राविधिक सहयोगमा नेपाल रेडक्रस सोसाइटीको समन्वय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेशको आयोजनामा भएको छलफलमा सहभागिहरुले विभिन्न सुझावहरु दिएका छन् ।

सबै पक्षको सुझाब र सल्लाहको आधारमा रणनैतिक योजना निमार्ण हुने कानुन मन्त्रालयका सचिब पुन्य बिक्रम पौडेलले बताए । कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका तर्फबाट मन्त्रालयका उप–सचिब बीरेन्द्रबहादुर के.सीले मन्त्रालयले पूर्व सूचना प्रणाली र विपद ब्यवस्थापनका क्षेत्रमा हाल सम्म गरेका कार्यहरु र थप ब्यवस्थापन गर्नुपर्ने योजनाहरुको प्रस्तुतिकरण राखेका थिए । भने प्राक्टिकल एक्सनका डा. धर्म सुवेदी र डा. केशब शर्माले कर्णाली प्रदेशमा भएका र भविष्यमा हुनसक्ने विपद र यसको रणनैतिक योजनाका विषयमा प्रस्तुतिकरण राखेका थिए ।

अन्य सहभागिहरुले सरकारले पूर्व सूचना प्रणालीको रणनैतिक योजना बनाउदा समुदाय र स्थानिय तहलाई बढि महत्वका साथ राखेर योजना बनाउनुपर्नेमा जोड दिएका छन् । कर्णालीको भुगोल र फरक फरक प्रकृतिका विपद् जोखिमको पहिचान गरी योजना बनाउनु पर्ने सुझाव छ ।