२०८०, १६ चैत्र शुक्रबार

आर्थिक प्रलोभनमा पार्न खोज्नेलाई पक्राउ गर्दै ट्राफिक

सुर्खेत । सुर्खेतमा डिउटीमा खटिएका ट्राफिकलाई आर्थिक प्रलोभनमा (घुस दिन खोज्नु) पार्न खोज्ने धमाधम पक्राउ परिरहेका छन् । सवारी चालक वा त्यो संग सम्बन्धीत व्यक्तिहरुलाई ट्राफिकले पक्राउ गर्दै सबक सिकाईरहेको छ । चेकजाँचको क्रममा पैसा दिएर उन्मुक्ति पाउन खोज्ने ट्राफिकको निसानामा परिरहेका छन् ।

आइतबार मात्रै वीरेन्द्रनगर स्थित सिटी बसपार्क क्षेत्रबाट एक जना मोटरसाईकल चालक पक्राउ परेका छन् । एक हजार रुपैयाँ दिएर ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने जुम्लाको गोठीचौर गाउँपालिका–५ स्थाई घर भई वीरेन्द्रनगरमा बस्दै आएका मोटरसाइकल चालक राजकमार भण्डारी पक्राउ परेका हुन । बसपार्कमा चेकजाँचको क्रममा भण्डारीलाई पक्राउ गरिएको हो ।

सवारी चालक तथा साहुहरुमा ट्राफिक प्रहरी भन्ने बित्तिकै पैसा दिए पुग्छ भन्ने मानसिकता रहेको र त्यसलाई नै परिवर्तन गर्नको लागि आफुहरु लागि रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख उपेन्द्रप्रसाद आचार्यले बताए । आचार्य २०७७ कात्तिक १६ गते ट्राफिक प्रहरी प्रमुखको रुपमा सुर्खेत आएका थिए । त्यसयता त्यस्ता गतिविधिलाई नियन्त्रणमा लिन ट्राफिकले विभिन्न कदमहरु चालिरहेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको तथ्याङ्क अनुसार पुष यता ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने १० जना चालक, सह–चालक, गाडी साहु पक्राउ परेका छन् । पक्राउ पर्नेहरु धेरै जसो मोटरसाईकल चालक हरेका छन् । ट्राफिक प्रहरीलाई घुस दिए पनि मनपरी गर्न पाइन्छ भन्ने मानसिकता नै परिवर्तन गर्ने अभियानमा आफुहरु निरन्तर लागेको प्रमुख आचार्यले बताए । ‘ट्राफिकलाई आर्थिक प्रालोभनमा पार्न खोज्ने समस्या सुर्खेतको मात्र नभएर नेपालकै हो,’ उनले भने, ‘यसलाई हामीले जरैबाट परिवर्तन गर्नुपर्छ । सवारी चालक मात्र नभएर ट्राफिक प्रहरी पनि त्यस्ता कामबाट टाढा बस्नुपर्छ ।’ ट्राफिक प्रहरी यस्ता गलत कामको विरुद्धमा निरन्तर लागिरहेको भन्दै उनले यदि ट्राफिक प्रहरी नै यसमा संङलग्न भएको पाइएमा कडा कारबाही गर्ने बताए ।

बजार क्षेत्रमा बढ्दो दुर्घटनामा घटनाहरुमा कमि ल्याउनको लागि ट्राफिकले ‘चालक संग एक मिनेट’ कार्यक्रम समेत सञ्चालन गरिरहेको छ । जस मार्फत चालकलाई विभिन्न सचेतना मुलक कार्यहरु गराइरहेको छ । हाल बजार क्षेत्रका विभिन्न चोक चोक, चौताराहरुमा विभिन्न कार्यक्रम गरेर चालकलाई सचेत गराइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले बताएको छ ।