२०८१, ७ बैशाख शुक्रबार

उपभोक्ता समूहमा भ्रष्टाचार भएको भन्दै छानबिनको माग

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर २ र ३ मा पर्ने सृजना सामुदायीक वन उपभोक्ता समूहमा चरम भ्रष्ट्राचार भएको भन्दै उपभोक्ताहरुले छानबिनको माग गरेका छन् । समितिमा अध्यक्ष खड्गबहादुर सुनार तथा अन्य पदाधिकारीहरुको मिलेमतोमा चरम अनियमितता भएको भन्दै छानविनको माग गरेका हुन । शुक्रबार उपभोक्ताहरुको समूहले वडा नम्बर २ को ठौरी गाउँमा पत्रकार सम्मेलन गर्दै २९ बर्ष देखि हालसम्मको लिखित, अलिखित, बिल भौचर भएको, बिल भौचर नभएको आम्दानीको स्रोतहरु र व्यय सम्बन्धि विवरण आम जनसमुदायहरुको रोहवरमा निस्पक्ष छानविनको माग गरेका हुन । सामुदायीक वनमा उपभोक्ताहरुको अधिकार माथि कुठाराघात गरेर सामुदायिक वनलाई निजिकरण गरेको उनीहरुको आरोप छ ।

साथै वन समूहमा चरम राजनितिकरण गर्ने अध्यक्ष खड्ग सुनारले नेतृत्व छाडेर युवाहरुलाई हस्तान्तरण गर्न समेत उनीहरुको माग छ । पत्रकार सम्मेलनमा वीरेन्द्रनगर वडा नम्बर २ का उपभोक्ता खम्बजंग थापाले हाल सम्मको हिसाब उपभोक्ता सामू पेश गर्नुपर्ने बताए । २९ बर्ष देखिको आर्थिक हिसाब स्वच्छ र पादरर्शि तरिकाले निष्पक्ष तरिकाले जनतालाई बुझाउनुपर्ने उनको माग छ ।

२९ बर्ष देखि एउटै व्यक्ति जनताहरुलाई झुक्याएर जाल, झेल र तिकडम गरेर जनताहरुको सहमति बिना अध्यक्ष भएको र नयाँ समिति निर्माण गनुपर्छ भन्दा उपभोक्ताहरुलाई धम्काउने, दमन गर्ने, जंगल जान नदिने जस्ता कामहरु गरेको उनीहरुको आरोप छ । वन पैदावर सम्बन्धी विभिन्न शिर्षकका आम्दानीका स्रोतहरुको बिल भौचरमहरुमा मनपरि दामासायी गरेर आम्दानीहरु कम देखाएको, उपभोक्ताबाट विभिन्न बाहानामा मनपरी रकम असुलेको तर बिल भौचर केहि पनि नदिएको, प्रत्येक बर्ष हरिया, ठूला र कडा साल लगायत बोटहरु काट्ने र काठहरु वितरण गर्दा रकम लिने तर बिल नदिने उपभोक्तालाई धोद्रा र कुकाठ बोट भनेर पन्छ्यिाउने गरेको उनीहरुको आरोप छ ।

साथै आफ्नो मनपरी तरिकाले सम्बन्धीत व्यक्तिलाई रकम खुवाएर हरेक बर्षको आम्दानी खर्च लेखापरिक्षण बराबर देखाइने गरेको उनीहरुको भनाई छ । उपभोक्ताहरुको सहमतिय बहुमतिय निर्णयमा नयाँ समिति निर्माण गर्ने भन्ने तर सर्वसम्मत अधिकार माथि कुठाराघात गरेर समितिको खाता चलाएर जम्मा उपभोक्ताहरु भन्दा २÷३ सय बढि भोट कार्डहरु छपाएर आर्थिक दुरुपयोग गरेको र फेरीपछि जालझेल गरेर अध्यक्ष हुने षडयन्त्र गर्नु भएको उनीहरुको आरोप छ । पत्रकार सम्मेलनमा उपभोक्ता तुल्षीप्रसाद पौडेलले अध्यक्ष सुनार भए यता २८ बर्षको आम्दानी कम्तिमा पनि २८ लाख बढि हुनुपर्ने बताए । समितिको भवन वडा नम्बर २ को ठौरी गाउँमा भएको तर बैठक तातापानीमा हुने गरेको भन्दै त्यसलाई तत्काल रोक्नुपर्ने र कार्यालयलाई व्यवस्थित गर्नुपर्ने अर्का उपभोक्ता गोरबहादु सारु मगरले माग गरे ।

यता उपभोक्ता समितिका अध्यक्ष खड्गबहादुर सुनारले केहि व्यक्तिहरुले आफ्नो सिमित स्वार्थका लागि आफुमाथि झुटो आरोप लगाइरहेको बताए । आफु २०५१ सालबाट वन समूहको नेतृत्वमा आएको र प्रत्येक बर्ष लेखापरिक्षण गरेर कार्यसमितिबाट पास भए उपभोक्ताको भेलाले अनुमोदन गर्ने गरेको उनको भनाई छ । ‘केहि उपभोक्ताहरुले समूहको नेतृत्वनै हत्याउने दाउमा उपभोक्तालाई उचाल्ने, अनावश्यक भ्रम सृजना गर्ने जस्ता कामहरु गरिरहनु भएको छ,’ उनले भने, ‘ उमेरले म ६४ बर्ष भइसकेको छु म आफै नै नयाँ सोच, जाँगर भएका युवाहरुलाई नेतृत्व दिने तयारीमा छु, । यदि उहाँहरुलाई नयाँ नेतृत्व ल्याउने चाहाना छ भने आउनुस छलफल गरौँ म युवा साथीहरुलाई नेतृत्व दिन तयार छु ।’

केहि उपभोक्ताहरुले समूहका अध्यक्ष तथा अन्य पदाधिकारीहरु माथि लगाएको आरोप सबै झुटो भएको समूहका उपाध्यक्ष लोकराज लामिछानेले बताए । ‘करिव ३ सय हेक्टरमा फैलिएको वनका ८ सय २६ जना उपभोक्ताहरुको सहमतिमा हामी नेतृत्वमा आएका हौँ,’ उनले भने, ‘अहिले केहि व्यक्तिहरु रिस र झोकको भरमा अनावश्यक बोलीराख्नु भएको छ ।’ समूह कार्यालय भएको वडा नम्बर २ को ठौरीगाउँमा २ सय ४७ घर र वडा ३ तातापानीमा ५ सय ८२ घर भएका कारण एक बर्ष तातापानी र एक बर्ष ठौरीको कार्यालयमा भेला गर्ने गरिएको अध्यक्ष सुनारले बताए ।

उपभोक्ता समूहको गत आर्थिक बर्ष २०७६÷०७७ को लेखापरिक्षणमा ५ लाख ६२ हजार ८ सय ५१ रुपैयाँ १५ पैसा बैंक मौजात देखाइएको छ । जसमा २ लाख ७ हजार ७ सय ५५ नगद मौजात त्यो मध्ये एक लाख राष्ट्रिय वाणिज्य दाखिला भएको छ । अब १ लाख ७ हजार ७ सय ५५ रुपैयाँ कोषमा जम्मा रहेको अध्यक्ष सुनारले जानकारी दिए ।