२०८१, ७ बैशाख शुक्रबार

‘कुडा कर्णालीका’ फागुनको अन्तिम साता

सुर्खेत । कर्णाली उत्सव ‘कुडा कर्णालीका’को दोस्रो संस्करण आउँदा फागुनको अन्तिम साताबाट सुरु हुने भएको छ । ऋति फाउण्डेसनले वीरेन्द्रनगर सुर्खेतले फागुन २७, २८ र २९ गते पर्यटकीय क्षेत्र बुलबुले उद्यानमा हुने बताएको छ । आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी दिँदै फाउण्डेसनले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई ध्यानमा राखेर भौतिक दुरी कायम गरेर धेरै दर्शकको पत्यक्ष सहभागिता गराउने तर्फ ध्यान केन्द्रीत हुने बताएको छ । यदि फागुनमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको अवस्थामा अभौतिक रुपमै भएपनि उत्सवलाई निरन्तरता दिने बताएको छ ।

आयोजक समितिका संयोजक तथा ऋति फाउण्डेशनका अध्यक्ष कमलराज लम्सालले विभिन्न व्यक्तिहरु, सरकारी तथा गैरसरकारी निकायहरुसंगको सहकार्यमा कर्णाली उत्सव संचालन गर्न लागिएको जानकारी दिए । उत्सवमा देशभरमा गरेर ५० भन्दा बढि साहित्यकार, लेखक, पत्रकार, कलाकार तथा अन्य विशिष्ट व्यक्तिको उपस्थिति रहने अध्यक्ष लम्सालको भनाई छ ।

कर्णालीको पहिचान र संभावनालाई उजागर गरी यहाँका ऐतिहासिक, राजनीतिक, आर्थिक, सामाजिक सांस्कृतिक एवम् पर्यटकीय महत्वलाई राष्ट्रिय रुपमा परिचित गराउनका साथै कर्णालीलाई बौद्धिक गन्तव्यका रुपमा विकास गर्नु कार्यक्रमको मुख्य उद्देश्यक रहेको बताइएको छ । ‘पहिलो संस्करणले हामीलाई एक प्रकारको उर्जा दिएको छ,’ अध्यक्ष लम्सालले भने, ‘यो कर्णालीको समृद्धिका खातिर सार्थक बहसको नियमित श्रृंखला हो । यसमा साहित्यका कुरा मात्र नभएर समग्र कर्णालीलाई फोकस गरिनेछ ।’