२०८१, ८ बैशाख शनिबार

पर्यटकीय क्षेत्रमा चहलपहल बढ्दै

सुर्खेत । कोरोना भाइरस (कोभिड–१९)का कारण गएको चैत्रबाट बन्द रहेको सुर्खेतको एतिहासीक काँक्रेविहार क्षेत्र मंसिर यता पूर्ण रुपमा सञ्चालनमा आएको छ । काँक्रविहार सञ्चालनमा आए संगै पर्यटकको चलहपहल पनि बढ्दै गएको छ । कोरोनाको कारण ८ महिना बन्द रहेको काँक्रेविहार क्षेत्रमा हाल दैनिक जसो पर्यटकहरु जाने गरेका छन् । काँक्रेविहार क्षेत्र पूर्ण रुपमा सञ्चालनमा आए संगै बिस्तारै पर्यटकीय गतिविधिहरु बढ्दै गएको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष सुरेश मानन्धर बताए ।

‘बिस्तारै पर्यटकको संख्या बढिरहेको छ,’ वडा अध्यक्ष मानन्धरले भने, ‘शनिबार वा अन्य बिदाको दिन झण्डै ५ सय भन्दा बढि मानिसहरु र अन्य दिन २ सय देखि ३ सयको हाराहारीमा मानिसहरु अवलोकन गर्ने गरेको तथ्याङ्क छ ।’

काँक्रेविहार संगै वीरेन्द्रनगर उपत्यकामा रहेको बुलबुले तालमा पनि मानिसहरुको चहलपहल बढिरहेको छ । बिशेष गरी आन्तरिक पर्यटकहरुको चललपहल बढेको हो । शनिबार वा बिदाको दिन दैनिक एक हजार भन्दा बढि मानिसहरुले अवलोकन गर्ने गरेको बुलबुले उद्यानका कर्मचारी डिल्लीप्रसाद न्यौपानेले बताए । ‘कर्णाली प्रदेशका संगै अन्य प्रदेशबाट पनि मानिसहरु बुलबुलेमा आइराख्नु भएको छ,’ उनले भने, ‘मंसिर यता दैनिक जसो त्यो संख्या बढिरहेको छ ।’ बिदाको दिन भन्दा अन्य दिन ५ सय देखि ७ सय सम्मको हाराहारीमा पर्यटकहरु आउने गरेको उनको भनाई छ ।
बुलबुले काँक्रेविहार मात्र नभएर सुर्खेतका पर्यटकीय क्षेत्रहरु देउती बज्यै मन्दिर, काठमाडौँको नगरकोटको उपमा पाएको गोठिकाँडा, पाताल दरबार लगायतका ठाउँहरुमा पनि पर्यटकहरु जान थालेका छन् । कोरोनाका कारण गाउँ फर्केका प्रदेश राजधानी वीरेन्द्रनगरमा बसेर अध्ययन गर्ने विद्यार्थीहरु, अन्य विभिन्न क्षेत्रका मानिसहरु लामो समय फर्कीय संगै पर्यटकीय क्षेत्रमा समेत गतिविधिहरु बढिरहेको पाइन्छ ।

लामो समय सम्मको बन्दा बन्दी अन्त्य भए संगै मानिसहरु घुम्न निश्किन थालेका हुन । बुलबुले तालको नाम धेरै पहिले सुने पनि पहिलो पटक तालमा पुगेको कालिकोटका रमेश भण्डारीले वीरेन्द्रनगर आएको मानिस एक पटक बुलबुले र काँक्रविहार पुग्ने पर्ने बताउँछन् । दशैँ तिहार लगत्तै कालिकोटबाट अध्ययनको शिलशिलामा वीरेन्द्रनगर आएका उनले भने, ‘बजार आए पछि काँक्रेविहार र बुलबुले ताल हामी पुगेका छौँ । साथीहरु पनि जम्मा हुँदै गएका छन् ।’ कोरोनाका कारण गएको साउनमा नै उनका कक्षा ११ को पढाई हुनुपर्ने भए पनि मंसिर यता मात्र सुरु भएको छ ।

सुर्खेतका पर्यटकीय क्षेत्र मात्रै नभएर कर्णाली प्रदेशका रारा ताल, शे–फोक्सुण्डो ताल, सल्यानको कुपिण्डे ताल, दैलेखका पञ्चकोशी क्षेत्रहरु लगायतका ठाउँहरुमा पर्यटकीय गतिविधिहरु बढिरहेका छन् । पूर्ण रुपमा हवाई तथा स्थलगत यातायात सञ्चालनमा आए संगै पर्यटकीय गतिविधिहरु पुरानै अवस्थामा फर्कीन लागेको व्यवसायीहरुले बताएका छन् । हवाई तथा स्थलगत मार्गहरु पूर्ण रुपमा सञ्चालनमा आए संगै पर्यटकीय गतिविधिहरु बढ्दै गएको होटल व्यवसायी संग कर्णाली कर्णाली प्रदेशका अध्यक्ष तर्कबहादुर शाहीले बताए । ‘पछिल्लो समय सबैले कोरोनालाई सहज रुपमा लिए संगै होटल व्यवसाय समेत फस्टाउँदै गएको छ,’ उनले भने, ‘विभिन्न क्षेत्रबाट पर्यटकहरु सुर्खेत हुँदै कर्णालीका अन्य विभिन्न क्षेत्रहरुमा जाने थालेका छन् । यसलाई होटल व्यसायीलाई केहि राहत मिल्दै गएको छ ।’ हाल कर्णाली प्रदेशबाट हुने सबै किसिमका हवाई उडान नेपालगञ्जको साटो सुर्खेतबाट भएको अवस्थामा होटल व्यवसायी छिटै नै पुरानै अवस्थामा फर्कीन सहज हुने उनको भनाई छ ।

यता कर्णाली प्रदेश सरकारले पनि पर्यटकीय गतिविधिहरु बढाउनको लागि विभिन्न किसिमका कार्यक्रमहरु अघि बढाइरहेको बताएको छ । प्रदेश सरकार उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका निमित्त सचिव शेर बहादुर क्षेष्ठले एक जिल्ला एक पर्यटकीय क्षेत्र विकास कार्यक्रम अघि बढाएको बताए ।

प्रदेश सरकारको बजेट भोगमरी, माहामारी र रोजगारीमा केन्द्रीत भएको भन्दै उनले विभिन्न पर्यटकीय गतिविधि मार्फत युवाहरुलाई रोजगारी दिन सकिने बताए । ‘रारा तालमा पर्यटकीय गतिविधि बढाउन साइकल लेन बनाउने, मुर्माटपमा स्थानीय घरमा होमस्टे बनाउने, बुलबुले तालको पूर्नउत्धान, काँक्रेविहारको निर्माण जस्ता थुप्रै कामहरु अघि बढिरहेका छन्,’ उनले भने, ‘प्रदेश सरकारको पर्यटन गुरुयोजना समेत मन्त्रीपरिषद्बाट पारित भएको छ । सोहि अनुसार पर्यटकीय गतिविधिहरु अघि बढाउँछौँ ।’ साथै उनले पर्यटकीय गतिविधिमा लाग्न चाहानेका लागि प्यारागलाईडिङ तालिम, ¥याप्टिङ, होमस्टे लगायत तालिमहरु समेत प्रदेश सरकारले दिने बताए ।