२०८१, १ बैशाख शनिबार

धान उत्पादनमा साढे ५ प्रतिशतले वृद्धि

सुर्खेत । कर्णाली प्रदेशमा यो बर्ष धान उत्पादनमा साढे पाँच प्रतिशतले वृद्धि भएको छ । गत बर्षको तुलनामा यो बर्ष ६ हजार मेट्रिक टन बढि धान उत्पादन भएको हो ।
कृषि विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले दिएको जानकारी अनुसार यो बर्ष कर्णालीमा एक लाख २० हजार ९ सय ७१ मेट्रिक टन धान उत्पादन भएको छ । गत बर्ष एक लाख १४ हजार ३ सय १८ मेट्रिक टन धान उत्पादन भएको थियो ।

यस वर्ष सुर्खेतमा ४२ हजार ८ सय ३, सल्यानमा २८ हजार ९ सय, रुकुम पश्चिममा ८ हजार ९ सय ७६, दैलेखमा ४ हजार ४ सय ४९ र जाजरकोटमा १० हजार ६ सय ६५ मेट्रिक टन धान उत्पादन भएको छ ।

यस्तै डोल्पामा ६ सय ५, जुम्लामा २ हजार ९ सय, कालिकोटमा ९ हजार ४ सय ८९, मुगुमा ७ हजार ५ सय ७६ र हुम्लामा ७ सय ९० मेट्रिक टन धान उत्पादन भएको निर्देशनालयले जानकारी दिएको छ ।

किसानको मेहेनत संगै यो बर्ष समयमै वर्षा भएका कारण धान उत्पादनमा वृद्धि भएको निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायाले बताए । ‘यो वर्ष वर्षात् हुँदा किसानले समयमै धान रोप्न पाए’, निर्देशक रोकायाले भने, ‘प्रदेश सरकारले उत्पादन वृद्धिका लागि किसानलाई प्रेरित गर्नु, बाँझो जमिनमा पनि खेती गर्नु जस्ता कारणले पनि धान उत्पादन बढेको हो ।’ कोरोनाका कारण किसान समयमै घर आउनु र गोडमेलमा ध्यान दिनु जस्ता कारणले धान उत्पादन वृद्धि भएको रोकायाको भनाई छ ।

अपेक्षा अनुसार वृद्धि भएन

धान उत्पादनमा वृद्धि भए पनि अपेक्षा अनुसारको वृद्धि भने हुन सकेन । बर्षायाममा किसानले समयमा नै रासायनिक मल नपाउनु र सहल किराको प्रकोपका कारण अपेक्षा अनुसारको धान उत्पादन नभएको हो । कर्णालीमा यो बर्ष गत वर्षभन्दा १० देखि २० प्रतिशत बढी धान उत्पादन वृद्धि हुने अपेक्षा गरिएको थियो ।

यस अघि बर्षायामको समयमा कोरोना महामारीका कारण कर्णालीमा पनि रासायनिक मल आयात भएको थिएन् । धान रोप्ने र गोडमेल गर्ने समयमा रासायनिक मल नपाउँदा अपेक्षा गरेअनुसार धान उत्पादन नभएको निर्देशनालयलको भनाई छ । सोहि समयमा सुर्खेत, जाजरकोट, सल्यान लगायतका जिल्लामा सलह किराले समेत धानको बिउमा क्षति पु¥याएको थियो ।