२०८२, ९ बैशाख मंगलवार

सडक डिभिजनद्वारा भेरी पुलको ठेकेदारबाट पेश्की रकम फिर्ता

सुर्खेत ।
भेरी नदिको बराहताल स्थित हरिहरपुरमा पुल निर्माण नगर्ने कम्पनी विरुद्ध सडक डिभिजन कार्यालय सुर्खेतले पेश्की रकम फिर्ता लिएको छ । तर अदालतमा मुद्दा ठेकेदारले हालेका कारण भने ठेक्का रद्द गर्न समस्या भएको छ । देश भरमै बदनाम भइसकेको पप्पु कन्स्ट्रक्सन प्रालिले ठेक्का लिएपनि सात वर्षसम्म पुल नबनाएको बताउँदै डिभिजन कार्यालयले ठेक्का तोडने निर्णय गरेको थियो । तर कम्पनीले भने कार्यालयका विरुद्ध मुद्दा दर्ता गरेका कारण मुद्दाको फैसला नहुन्जेल कार्यालयले केहि गर्न पाउने छैन ।
सडक डिभिजन कार्यालय सुर्खेतका डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीले पुल नबनाएको कारण ठेक्का तोडनै लाग्दा केहि बाधा आएको बताए । ‘हामीले लामो समयसम्म पुल नबनाएका कारण ठेक्का तोडने निष्कर्ष निकालेका थियौं ।’ उनले भने, ‘जसका आधारमा हामीले मोविलाइजेशन पेश्की रु एक करोड ७६ लाख ५० हजार रुपैंया बैंकबाट साउन ८ गते नै फिर्ता लगिसकेका छौं ।’ उनले ठेकेदारले ठेक्का नतोडन र पेश्की रकम फिर्ता नलिन भन्दै उच्च अदालतमा मुद्दा दायर गरेको बताए । ‘उहाँले उच्च अदालतमा मुद्धा दर्ता नगरेको भए हामीले ठेक्का तोडिसकेका हुने थियौं ।’ उनले भने, ‘पेश्की रकमबारे अदालतले सकारात्मक आदेश दिएकाले फिर्ता लिएका हौं तर ठेक्का बारे अदालतले फैसला नगरिसकेका कारण हामीलाई सम्स्या भएको छ ।’ उनले सडक डिभिजन अन्र्तगत पर्ने भूरीगाउँ तेलपानी सडकको सबै ट्रयाक खोलिसकिएको जानकारी दिए ।
छिटो पुल निर्माण सम्पन्न गर्न स्थानीय बासिन्दाले सडक डिभिजनलाई दबाब दिँदै आएका छन् । पुल निर्माणका लागि पप्पु मल्ल जेभी कन्ट्रक्सन प्रालि र डिभिजन सडक कार्यालय सुर्खेतबीच आव २०६८÷६९ मा सम्झौता भएको थियो । १४ करोड २९ लाख ७९ हजार २ सय ७८ रुपैयाँ लागत रहेको योजना अन्तर्गत हालसम्म दुईवटा सपोर्ट पिल्लर मात्र निर्माण गरिएको छ ।
कम्पनीले २०७२ पुस २९ गते सम्पन्न गर्ने कार्यादेश पाएको थियो । डिभिजन सडक कार्यालयले तीन वर्षमा निर्माण सकेर हस्तान्तरण गर्ने सम्झौता उल्लंघन गरेको भन्दै छिटो काम थाल्न ठेकेदारलाई ताकेता गर्दै आएको छ । निर्माण कम्पनीले हालसम्म २ करोड बढी रुपैयाँ भुक्तानी लगिसकेको छ । सुर्खेतबाट बर्दियाको भुरीगाउँ ५० किमि दूरीमा पर्छ । सुर्खेतदेखि ३२ किमि बर्दियाको तेलपानीसम्म सडकको ट्रयाक निर्माण भइसकेको छ । बर्दिया तर्फको तेलपानी जोड्न झन्डै ६ किमि बाँकी छ ।
गुणस्तरहीन काम गर्ने र समयमै योजना सम्पन्न नगर्नाले देशैभरी बद्नाम बनेको पप्पु कन्स्ट्रक्सनले ठेक्का लिएको पुल निर्माण कार्य सुर्खेतमा समेत अलपत्र पारेको छ । कन्स्ट्रक्सनले सुर्खेतको भेरी नदी माथि बन्न लागेको पुललाई समेत अछुतो छोडेन् । उसले ठेक्का लिएको पुल विगत ७ वर्षदेखि अलपत्र परेको छ । निर्माण कम्पनीको लापरबाहीले सम्झौता अनुसार काम हुन नसक्दा पुल अलपत्र बनेको हो ।